काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले योजना, प्राथमिकता र नतिजा विश्लेषण बिनाको खर्च गर्ने प्रवृत्तिले नागरिकमा राज्य प्रतिको विश्वास घट्दै गएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको सार्वजनिक खर्चको उपयोगिता र सेवा सुधार विषयक बहस’ र ’अबण्डा खर्च’ विषयक अनुसन्धानको रिपोर्ट सार्वजनिक र स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापन विषयमा तयार गएको इ–बुक सार्वजनिक कार्यक्रम आयोजना गरिएकाले उक्त कार्यक्रममा उनले यस्तो बताए ।
मन्त्री सिन्हाले जनताबाट संकलित करको उचित प्रयोग हुनुपर्ने बताए । उनले सार्वजनिक सदुपयोग भएन र आर्थिक सुशासन हुन सकेन भने नागरिकमा असन्तुष्टि देखिने बताए । उनले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनी पनि त्यसको परिणाम भएको बताए ।
“बजारमा कालोबजारी, एकाधिकार जस्ता विकृति हटाउन आवश्यक छ“ उनले भने “जेनजी प्रदर्शनको जगमा बनेको सरकार सुशासन र आर्थिक पारदर्शिता कायम गर्न प्रतिबद्ध छ । यद्यपि केही सीमितताको कारणले सोचेअनुरूप काम गर्न नसकेको हो ।“ यद्यपि, सरकारले आफ्ना काममा विज्ञको सुझाव लिएर अघि बढेको उनको भनाइ छ ।
उनले आगामी चुनावसम्म सुशासन र सेवा प्रवाहमा सुधार ल्याई सक्नुपर्ने कार्यभार सरकारमा रहेको र सकारात्मक प्रकृतिको वातावरण सिर्जना गरी सरकार स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले राष्ट्रका आवश्यकता पूरा गर्ने योजना तथा कार्यक्रम भन्दा पनि शक्ति र पहुँचका आधारमा बजेटमा योजना पार्ने गरेको प्रवृत्तिका कारण अहिले सरकारले त्यस्ता योजना तथा कार्यक्रम कटौती गरिएको जानकारी गराए । उनले केही योजना र कार्यक्रमको बजेट रोक्का राखेको भएपनी त्यसबारे गुनासा आएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्