काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्म आउँदा ७ खर्ब ६६ अर्बको आयात हुँदा १ खर्ब १६ अर्बको निर्यात भएको छ । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा नेपालबाट हुने वस्तु निर्यात ५८.१७ प्रतिशतले बढेको छ ।
गत आवको पहिलो पाँच महिनामा ७३ अर्ब ६५ करोड ९७ लाख रूपियाँको वस्तु निर्यात भएको थियो । चालु आवको पहिलो पाँच महिनामा एक खर्ब १६ अर्ब ५० करोड ९० लाख रूपियाँको वस्तु निर्यात भएको छ ।
समीक्षा अवधिमा आयात भने १५.८३ प्रतिशतले बढेको छ । गत आवको पहिलो पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रूपियाँको वस्तु आयात भएको थियो । चालु आवको पाँच महिनामा सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रूपियाँको वस्तु आयात भएको छ ।
यसरी समीक्षा अवधिमा आयात–निर्यातबीचको तुलना गर्दा नेपालको व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड एक लाख रूपियाँ देखिएको थियो । यो गत आवको यसै अवधिको तुलनामा १०।५२ प्रतिशतले बढी हो । गत आवको पाँच महिनामा पाँच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रूपियाँको व्यापार घाटा थियो ।
समीक्षा अवधिमा सोयाविनको तेलको निर्यात सबै भन्दा धेरै देखिएको छ । समीक्षा अवधिमा ४६ अर्ब ५५ करोड ८६ लाख रूपियाँ बराबरको २२ करोड ५२ लाख ८८ हजार केजी सोयाबिन तेल निर्यात भएको छ ।
दोस्रोमा अलैंची रहेको छ । समीक्षा अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख रूपियाँको अलैंची निर्यात भएको छ । तेस्रो स्थानमा भने कार्पेट रहेको छ । समीक्षा अवधिमा चार अर्ब १३ करोड ४६ लाख रूपियाँको कार्पेट निर्यात भएको छ ।







प्रतिक्रिया दिनुहोस्