काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड पुगेको छ ।
सार्बजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मंसिर मसान्तसम्म सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब एक अर्ब ६३ करोड र बाहृय १४ खर्ब ८६ अर्ब ९० करोड रहेको छ ।
गत असार मसान्तको तुलनामा मङ्सिर मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण एक खर्ब १४ अर्ब ४८ करोड थपिएको छ । असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।
यो ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ४५.६६ प्रतिशत हो ।
चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा पाँच महिनामा एक खर्ब ७८ अर्ब १२ करोड ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा कुल सार्बजनिक ऋण प्राप्ति २९.४० प्रतिशत रहेको छ ।
५ महिनामा १ खर्ब ७५ अर्ब १२ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ६७ अर्ब १ करोड ऋण भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये १ खर्ब ३८ अर्ब ३० करोड साँवा र बाँकी २८ अर्ब ७० करोड रुपैयाँ ब्याज रहेको छ ।







प्रतिक्रिया दिनुहोस्