वीरगञ्ज । चालु आर्थिक वर्षको ५ महिनामा वीरगञ्ज नाकाबाट ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट ३० अर्ब २५ करोड राजस्व सङ्कलन भएको जनाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको ५ महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए ।
गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात् एक अर्ब ८३ करोड बढी राजस्व सङ्कलन भएको हो । जबकि गत आवको पाँच महिनामा भने ६९ अर्ब १५ करोड मूल्यका पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो । चालु आवको पाँच महिनामा वीरगञ्ज हुँदै ३५ अर्ब ३१ करोड मूल्यको डिजेलको आयात भयो ।
यो अवधिमा १७ करोड ३६ लाख मूल्यको पेट्रोल र १२ अर्ब १७ करोडको एलपी ग्यासको आयात भएको छ । यस्तै सात अर्ब २५ करोडको एटिएफ र १९ करोडको मट्टितेल आयात भएको छ ।








प्रतिक्रिया दिनुहोस्