काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ को कार्यतालिका, लोगो र मूल नारा सार्वजनिक गरेको छ ।
“अर्थतन्त्र मापनको लागि आर्थिक गणना” भन्ने नाराका साथ यो गणना २०८२ चैत १ गतेदेखि २०८३ असार मसान्तसम्म देशैभर सञ्चालन गरिनेछ ।
कार्यालयका अनुसार देशको समग्र आर्थिक अवस्थाको यथार्थ चित्र तथ्याङ्कीय माध्यमबाट प्राप्त गर्ने उद्देश्यले ७७ जिल्लामा ८४ वटा आर्थिक गणना कार्यालय स्थापना गरिनेछ । यस गणनाबाट प्राप्त नतिजा आर्थिक वर्ष २०८३÷०८४ को सुरुदेखि क्रमशः सार्वजनिक गरिनेछ ।
राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी–सार्वजनिक संस्थाहरूको संख्या, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गरिनेछ। यसले कुल गार्हस्थ उत्पादन (जीडीपी) का अनुमान सुदृढ बनाउन, राष्ट्रिय लेखाका आधार वर्ष परिमार्जन गर्न तथा नीति निर्माण र योजना तर्जुमामा सहयोग पुर्याउने कार्यालयले जनाएको छ ।
यसअघि २०७५ सालमा सम्पन्न पहिलो राष्ट्रिय आर्थिक गणनामा देशभर ९ लाख २३ हजारभन्दा बढी प्रतिष्ठान तथा व्यवसाय गणना गरिएको थियो भने करिब ३२ लाख मानिस रोजगारीमा संलग्न रहेको पाइएको थियो।
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना, २०८२ लाई बृहद राष्ट्रिय अभियानका रूपमा उल्लेख गर्दै यसको सफलताका लागि सञ्चारकर्मी, उद्यमी, व्यवसायी, उद्योगी तथा सम्पूर्ण सरोकारवालाको सक्रिय र इमान्दार सहभागिताका लागि आग्रह गरेको छ।








प्रतिक्रिया दिनुहोस्