Skip to content

कात्तिक महिनामाभन्दा माथि पुग्यो मूल्य वृद्धिको रेसियो, कति पुग्यो?

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनाको तुलनामा मंसिरमा मूल्य वृद्धि बढेको छ । कात्तिक महिनामा १.११ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति मंसिर महिनामा बढेर १.६३ प्रतिशत पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०८२ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.९९ प्रतिशत र ३.९२ प्रतिशत थियो ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.८९ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.५६ प्रतिशत तथा दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले बढेको छ । तर तरकारी उप–समूहको सूचकाङ्क ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.५६ प्रतिशतले बढेको छ । यस्तै, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले मूल्य बढेको देखिएको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको उपभोक्ता मूल्य सूचकाङ्क भने ०.२३ प्रतिशतले घटेको छ ।

क्षेत्रगत रूपमा समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.०९ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको १.८३ प्रतिशतले बढेको छ ।

प्रदेशगत विवरण अनुसार कोसी प्रदेशमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.५४ प्रतिशत, मधेस प्रदेशमा २.०१ प्रतिशत, बागमती प्रदेशमा १.४८ प्रतिशत, गण्डकी प्रदेशमा १.०८ प्रतिशत, लुम्बिनी प्रदेशमा १.६७ प्रतिशत, कर्णाली प्रदेशमा १.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.४० प्रतिशत रहेको छ ।

भौगोलिक क्षेत्रका आधारमा काठमाडौं उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.९५ प्रतिशत, तराईमा १.७१ प्रतिशत, पहाडमा १.३६ प्रतिशत र हिमाली क्षेत्रमा १.४७ प्रतिशत रहेको छ ।

यसैगरी, २०८२ मंसिर महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा थोक मुद्रास्फीति ६.५२ प्रतिशत थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ०.४१ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मुद्रास्फीति क्रमशः ४.२७ प्रतिशत र २.०९ प्रतिशत रहेको छ । सोही अवधिमा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ४.५२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi