Skip to content

६ महिनामा ४७५ उद्योगले गरे वैदेशिक लगानी ल्याउने प्रतिवद्धता, करिब ३९ अर्ब २३ करोड भित्र्याउने

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा ४७५ उद्योगले नेपालमा वैदेशिक लगानी भित्र्याउने प्रतिवद्धता गरेका छन्। उद्योग विभागको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार साउनदेखि पुससम्मको अवधिमा यी उद्योगबाट कुल ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता आएको हो।

यस अवधिमा स्वचालित माध्यम तथा लगानी स्वीकृति प्रक्रियामार्फत ४७५ वटा एफडीआई प्रस्ताव स्वीकृत भएका छन्। तीमध्ये ३१४ वटा परियोजना स्वीकृति प्रक्रियामार्फत र १६१ वटा स्वचालित माध्यमबाट अघि बढेका हुन्।

प्रतिवद्ध लगानीका आधारमा यी परियोजनाबाट २० हजार १२२ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। यसले औद्योगिक विस्तारसँगै रोजगारी सिर्जनामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

उद्योग विभागका अनुसार सेवा, उत्पादन, पर्यटन तथा ऊर्जा क्षेत्र वैदेशिक लगानीकर्ताको प्रमुख आकर्षणका क्षेत्र बनेका छन्। सरकारको लगानीमैत्री नीति, कानुनी सुधार तथा प्रक्रियागत सहजीकरणका कारण पछिल्ला वर्षहरूमा वैदेशिक लगानी प्रतिवद्धतामा वृद्धि देखिएको विभागको भनाइ छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima