रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ । हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेकोे छ ।
७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सो जानकारी दिए ।
कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सोमबार भन्सार दिवस मनाएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुङ्गा, बालुवा हटाउने कार्य नेपाल इन्टर मोडल यातायात विकास समितिमार्फत भइरहेको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिए । उनका अनुसार हालसम्मको सरसफाइबाट करिब दुई सय ५० वटा ट्रक अट्ने वातावरण बनेको छभने केही भागमा अझै सफाइ बाँकी छ ।
सो अवसरमा उत्कृष्ट कार्य गर्ने दुई व्यवसायी र चार जना कर्मचारीलाई सम्मान गरिएको थियो । व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा तीन अर्ब २१ करोड राजस्व बुझाउने सिजी मोटर सप्लायर्स तथा ७४ करोडबराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स काठमाडौँलाई सम्मान गरिएको हो । कर्मचारीतर्फ नायबसुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेशदत्त जोशीलाई सम्मान गरिएको छ ।
सो अवसरमा रसुवागढी नाकालाई नीति–नियमअनुसार सञ्चालन गर्दै उत्तरी नाकाको गरिमा अझ उच्च बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा वक्ताहरूले जोड दिए । साथै सडक सुधार कार्ययोजना सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीन सरकारको सहयोगमा सुधार हुन लागेको सडकको पहिलो चरणमा असहज मोडहरू सिधा बनाउन सवारी चालकहरूले माग गरेका छन् ।
यसैबीच, हिउँदको सुक्खा होस् वा वर्षायामको हिलो पहिरो पन्छाई रसुवागढीखण्डमा सडक सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको जनाउँदै रसुवागढी जलविद्युत् केन्द्रलाई पनि कार्यक्रममा प्रशंसा गरिएको भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्