दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ ।
आव २०८२/८३ को छ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको हो ।
दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सारले लक्ष्यभन्दा आठ लाख ७३ हजार ६३८ कम राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले ६ महिनासम्म ८४ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । पुस मसान्तसम्म ७६ लाख २३ हजार ३६२ सङ्कलन भएको कोइलावास भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । जुन लक्ष्यको ८९.७२३ प्रतिशत हो ।
कार्यालयले साउनमा १३ लाख ५८ लाख राजस्व उठाउने लक्ष्य लिएकामा नौ लाख ९० हजार ९७४ सङ्कलन गरेको छ । यसैगरी भदौमा १४ लाख ९८ सङ्कलन गर्ने लक्ष्य लिएकामा ६ लाख ६८ हजार ६४९ राजस्व सङ्कलन भएको छ ।
असोजमा १४ लाख १७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८ लाख चार हजार ५५१ सङ्कलन भएको छ । त्यसैगरी, कात्तिकमा १५ लाख एक हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा ९ लाख ६३ हजार ८३० सङ्कलन भएको छ ।
मङ्सिर महिनामा १३ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८ लाख ८६ हजार २९५ सङ्कलन भएको छ । पुसमा १३ लाख ४० हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा ३३ लाख नौ हजार ६३ सङ्कलन भएको छ । पुसमा भारतीय पर्यटकको नेपाल आगमन बढी भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।
दाङ, रोल्पा, प्युठानका लागि पैठारी हुने व्यापारिक सामान कोइलावास नाकाबाट भित्रिएको देखिँदैन । व्यापारीका लागि सबैभन्दा छोटो नाका परे पनि आकर्षण देखिएको छैन । सहज सडक सञ्जाल भए पनि यसलाई सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास भएको पाइँदैन ।
निजी क्षेत्रले केही प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन । हरेक निर्वाचनको समयमा भने कोइलावास भन्सारले चर्चा पाउने गरेको छ । अहिले पनि उम्मेदवारहरूले कोइलावास भन्सारको विषयलाई उठाउन थालेका छन् । कोइलावास नाकालाई सञ्चालन गरी दाङको विकासमा टेवा पुर्याउने भन्दै आश्वासन दिन थालेका हुन् ।







प्रतिक्रिया दिनुहोस्