Skip to content

उदयपुर सिमेन्टमा ‘क्लिङ्कर घोटाला’ प्रकरण: पूर्वमहाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा करिब साढे ४६ करोड रुपैयाँ बराबरको क्लिङ्कर हिनामिना भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महाप्रबन्धकसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल र नायब महाप्रबन्धक महेश प्रसाद काफ्लेविरुद्ध जनही १२ करोड ४७ लाख २२ हजार २ सय ४२ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको हो। यस्तै तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साह, उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी तथा बिक्री विभाग प्रमुख राम बहादुर जी.सी. विरुद्ध जनही ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरिएको छ।

उद्योगमा क्लिङ्करको खपत कागजी रूपमा बढी देखाउने तर वास्तविक उत्पादन र मौज्दात कम रहेको पाइएको भन्दै अख्तियारले अनुसन्धान सुरु गरेको थियो। भौतिक परीक्षणका क्रममा क्लिङ्करको मौज्दातमा ठूलो अन्तर देखिएपछि गरिएको अनुसन्धानबाट आर्थिक वर्ष २०७४/७५ देखि २०७७ साल पुस मसान्तसम्म कुल ३८ हजार ७ सय ६९ मेट्रिक टन क्लिङ्कर हिनामिना भएको पुष्टि भएको अख्तियारको दाबी छ।

अभियोगपत्र अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा सरकारी सम्पत्ति मास्ने बदनियत राखी कागजी अभिलेखमा क्लिङ्करको मौज्दात बढी देखाउने तर वास्तविक भण्डारणमा कम राख्ने कार्य गरेका थिए। मन्त्रालयको छानबिन प्रतिवेदनमा क्लिङ्कर र चुनढुङ्गाको उत्पादन अनुपात सामान्यतया ०.७२५ हुनुपर्नेमा उदयपुर सिमेन्ट उद्योगमा उक्त अनुपात घटेर ०.६४९ सम्म पुगेको पाइएको उल्लेख छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १ हजार १ सय २९ मेट्रिक टन क्लिङ्कर हिनामिना भई करिब १ करोड १४ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। यस्तै आर्थिक वर्ष २०७५/७६ मा १० हजार २ सय ९० मेट्रिक टन क्लिङ्कर हिनामिना हुँदा करिब ११ करोड ३३ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने आर्थिक वर्ष २०७६/७७ मा १ हजार ३ सय २५ मेट्रिक टन क्लिङ्कर हिनामिना भई करिब १ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति पुगेको अख्तियारको दाबी छ। त्यसैगरी आर्थिक वर्ष २०७७ साउनदेखि पुससम्म मात्रै २६ हजार १ सय १५ मेट्रिक टन क्लिङ्कर हिनामिना हुँदा करिब ३२ करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life