Skip to content

नेपाललाई विश्व बैंकको ९५ मिलियन डलर सहयोग स्वीकृत, १ लाख बढी एमएसएमईको वित्तीय पहुँच विस्तारमा लगानी गर्ने

काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालमा दिगो तथा समावेशी वित्त प्रवर्द्धनका लागि ९५ मिलियन अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ ।

यस परियोजनाबाट १ लाखभन्दा बढी साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्दै रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक डेभिड सिस्लेन ले भने, “यस परियोजनाले नेपालको निक्षेप तथा कर्जा ग्यारेन्टी कोषलाई थप सुदृढ बनाउँदै जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिला नेतृत्वका व्यवसायजस्ता सेवाबाट वञ्चित क्षेत्रका लागि नयाँ ग्यारेन्टी उत्पादन सुरु गर्न सहयोग गर्नेछ।”

उनका अनुसार वित्तीय पहुँच सहज बनाउँदै र लेनदेनसम्बन्धी अवरोध घटाउँदै यस परियोजनाले एमएसएमईहरूलाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृंखलासँग जोड्न, रोजगारी सिर्जना गर्न र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि गर्न टेवा पुर्‍याउनेछ।

सस्टेनेबल एन्ड इन्क्लुसिभ फाइनान्स प्रोजेक्टले सन् २०२४ मा सम्पन्न विश्व बैंकद्वारा सन्चालित फाइनान्सियल सेक्टर स्टेबिलिटी एन्ड फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट अन्तर्गत सुरु गरिएका सुधारहरूलाई थप अगाडि बढाउनेछ। उक्त सुधार कार्यक्रमले सेवाबाट वञ्चित वर्गको वित्तीय पहुँचलाई प्राथमिकताका रूपमा अघि सारेको थियो।

परियोजनाअन्तर्गत नेपाल क्रेडिट सूचना ब्युरोको प्रविधि तथा संस्थागत क्षमता अभिवृद्धिमा समेत लगानी गरिनेछ। यसले डेटा कभरेज विस्तार, वैकल्पिक डेटा स्रोतहरूको एकीकरण तथा डेटा सुरक्षा र गोपनीयता सुदृढीकरण मा सहयोग पुर्‍याउनेछ। यस कार्यमा अन्तर्राष्ट्रिय वित्त निगमले समेत सहयोग गर्दै आएको छ। परियोजना नेपाल सरकारले हालै स्वीकृत गरेको दोस्रो वित्तीय क्षेत्र विकास रणनीति सँग पनि मेल खाने बताइएको छ।

दक्षिण एशिया क्षेत्रका वरिष्ठ वित्तीय क्षेत्र विशेषज्ञ तथा परियोजनाका कार्यदल प्रमुख साबिन राज श्रेष्ठले भने, “पर्याप्त धितोको अभाव र सीमित कर्जा इतिहासका कारण साना तथा मझौला उद्यमहरू लामो समयदेखि सुलभ वित्तीय सेवाबाट वञ्चित छन्। यसले ऋणदाताहरूलाई समेत कर्जा जोखिम मूल्यांकन गर्न कठिन बनाउँदै आएको छ।”

उनका अनुसार डीसीजीएफलाई व्यवस्थापन सूचना प्रणाली स्तरोन्नति, दाबी भुक्तानी प्रक्रिया छरितो बनाउने, जोखिम–आधारित शुल्क प्रणालीतर्फ रूपान्तरण गर्दै थप प्रभावकारी बनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life