काठमाडौं । नेपाल आयल निगमले देशभर एलपी ग्यासको मौज्दात पर्याप्त रहेको दाबी गरिरहेको छ।
निगमले उपभोक्तालाई खाना पकाउने एलपी ग्यास आवश्यकता भन्दा धेरै आयात भएका कारण मौज्दात नराख्न अनुरोध नै गरेको छ । निगमका प्रमुख कार्यकारी अधिकृत चण्डिकाप्रसाद भट्टले बुधबार सामाजिक सञ्जालमार्फत ग्यास आपूर्ति सहज बन्दै गएको जानकारी दिँदै उपभोक्तालाई आत्तिन आवश्यक नरहेको बताए ।
पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा ग्यास अभाव देखिएपछि डरले उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास प्रयोग तथा मौज्दात गरेकाले आपूर्ति व्यवस्थापनमा दबाब परेको निगमले जनाएको छ। तर भारतबाट पर्याप्त मात्रामा एलपी ग्यास लोड भएर आइरहेकाले अब ग्यासको अभाव नहुने निगमको दाबी छ ।
तर, काठमाडौंसहित विभिन्न शहरमा ग्यास सहज रुपमा नपाईएको उपभोक्ताहरुको गुनासो छ । नक्सानमा स्थित एक खाजा पसलका सञ्चालक भन्छन, ‘बजारमा ग्यासको अभाग छ, एक सिलेन्डर ग्यास ल्याउनको लागि ३–४ दिन सिलेन्डर लाईनमा राख्नु पर्छ ।’
उनका अनुसार बजारमा सहज रुपमा ग्यास आपूर्ति भइरहेको छैन् । बालुवाटार स्थित एक डिलरका बिक्रेता भन्छन् ‘ग्यास कम आयात भएको छ । यस कारण बजारमा ग्यास अभाव भएको हो ।’ ती व्यवासायीका अनुसार ग्यास पसलहरुले नै माग गरेजति ग्यास ल्याउन पाई रहेका छैनन् । जसको कारण बजारमा ग्यासको अभाव देखिएको उनी बताउँछन् ।
डिलरले नै डिपोबाट ग्यास नआएको बताए । जसको कारण उपभोक्तालाई खाली हात फर्काउनु परेको त्यो डिपोका विक्रेता बताउँछन् ।
‘यहाँ धेरै कम्पनीको ग्यास आउँछ । नेपाल ग्यास कम आइरेहको छ। यसको अभाव भएको भन्दै डिलरले नै कम ग्यास पठाएको छ,’ उनले भने, ‘मागेजति ग्यास डिलरले दिन नसक्दा ग्राहकलाई रित्तो हात फर्काउनुपरेको उनको भनाई छ ।’
बजारमा देखिएको ग्यास अभावको सबैभन्दा ठूलो मारमा एउटा मात्र सिलिन्डर हुने विद्यार्थी र न्यून आय भएका परिवार परेका छन् । दुई वा त्यसभन्दा बढी सिलिन्डर हुनेलाई खासै समस्या नभए पनि एउटैको भरमा बस्नेहरूको त भान्सा नै बन्द हुने स्थिति देखिएको उपभोक्ताको गुनासो छ ।
यसैगरी, एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव धिमिरेका अनुसार अहिले बजारमा माग अनुसार ग्यास आयात भएको छैन । हाल नेपाली बजारमा १५० भन्दा बढि बुलेट ग्यासको माग छ । तर, आयात त्यो भन्दा कम भएका कारण बजारमा अभाव भएको उनी बताउँछन् ।
‘‘हामिले बजारमा चाहिनेजति ग्यासको माग गरेका छौं । तर, आयल निगमले माग गरेको जति ग्यास आयात गर्न नसक्दा सहज रुपमा ग्यास नपाइएको हो’’ धिमिरे भन्छन् ।
तर, आयल निगमले भने अहिले माग भन्दा पनि बढि ग्यास आयात भएको दावी गरेको छ । आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले ग्यास आपूर्ति मागभन्दा धेरै भइरहेका कारण उपभोक्तालाई नआत्तिन र अनावश्यक सञ्चिति नगर्न आग्रह गरे।
ठाकुरले दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिण्डर) ग्यास आवश्यक पर्नेमा पछिल्ला दिनहरूमा सोभन्दा बढी परिमाणमा ग्यास लोड भइरहेको बताए । उनका अनुसार यस हप्ता इन्डियन आयल कर्पोरेसनबाट ग्यास लोड भएको र नेपाल आइसकेको छ । धेरैजसो बुलेटहरू बाटोमा रहेको र नेपाल भित्रिने क्रममा रहेको उनको दाबी छ।
केही सीमित उद्योगका सिलिण्डरहरूमा देखिएको समस्या समाधान गर्न र आपूर्ति सहज बनाउन ती उद्योगलाई निर्देशन दिइसकिएकाले केही समयभित्रै बजार पूर्ण रूपमा सामान्य हुने निगमले जनाएको छ । आसन्न निर्वाचन अवधिभर ग्यासको आपूर्ति यसरी नै सहज रहने भन्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्र खरिद गर्न निगमले अपील गरेको छ।







प्रतिक्रिया दिनुहोस्