काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ ।
चालु आवका लागि कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा आठ खर्ब एक अर्ब ३७ करोड ४९ लाख खर्च भएको छ । यस वार्षिक विनियोजनको ४० दशमलव ८ प्रतिशत बराबर हो । चालुगत शीर्षकमा यस वर्ष ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ४७ दशमलव ६२ प्रतिशत अर्थात् पाँच खर्ब ६२ अर्ब ३७ करोड १५ लाख बराबर खर्च भएको छ ।
त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा १५.६२ प्रतिशत अर्थात् ६३ अर्ब ७२ करोड ९९ लाख खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकको माघ मसान्तसम्मको खर्च ४६ दशमलव ७१ प्रतिशत छ । यो शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकोमा एक खर्ब ७५ अर्ब २७ करोड ३५ लाख खर्च भएको छ ।
यस आवका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा माघ मसान्तसम्ममा ४४ दशमलव ४९ प्रतिशत प्रगति भएको छ । हालसम्ममा छ खर्ब ८२ अर्ब १६ करोड ७३ लाख बराबर राजस्व उठेको छ । कर राजस्वतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २१ प्रतिशत अर्थात् पाँच खर्ब ९९ अर्ब ३१ करोड ४६ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको ४२ दशमलव ५५ अर्थात् ६५ अर्ब ७१ करोड तीन लाख बराबर असुली भएको छ ।
चालु आवमा ५३ अर्ब ४४ करोड ६९ लाख बराबरको वैदेशिक अनुदान लिने सरकारी लक्ष्य थियो । माघ मसान्तसम्ममा १२ अर्ब ८३ करोड ७९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको २४.०२ प्रतिशत प्राप्त भएको कार्यालयले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्