Skip to content
Prabhu

दमौली आगलागीपीडितलाई राहतका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

दमौली । तनहुँको व्यास नगरपालिका–३ स्थित फलफूल लाइनमा भएको आगलागीपीडितलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराइएको छ ।

राष्ट्रियसभा सदस्य एवम् नेकपा (एमाले) का प्रमुख सचेतक भगवती न्यौपानेले आज प्रधानमन्त्री दाहाललाई भेटेर पीडितलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न ध्यानाकर्षण गराएका हुन् । त्यसक्रममा प्रधानमन्त्री दाहालले पीडितलाई राहत दिने विषयमा सरकार गम्भीर रहेको आश्वासन दिनुभएको न्यौपानेले जानकारी दिए। उनले भने, ‘आगलागीका कारण २१ जनाको रोजीरोटी गुमेको छ, व्यापार व्यवसाय बन्द भएको छ । सरकारका तर्फबाट के गर्न सकिन्छ त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छु । उनीबाट सकारात्मक जवाफ आएको छ ।’

न्यौपानेले शनिबारमात्रै दमौलीमा पीडितसँग भेटेर सरकारसमक्ष कुरा पु¥याउने प्रतिबद्धता जनाएका थिए । गत सोमबार बिहान १२ः४५ बजे आगलागी हुँदा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका यहाँका २१ व्यवसायिक सटर पूर्णरूपमा जलेका थिए । यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए ।

त्यसक्रममा ६ करोड ९९ लाख ५१ हजार छ सय ७० रुपैयाँको क्षति भएको व्यास नगरपालिकाले गठन गरेको समितिले जनाएको छ । आगलागीका क्रममा थोरै ३ लाख १० हजारदेखि १ करोड १५ लाख रुपैयाँ सम्मको क्षति भएको छ । सबैभन्दा बढी इमेज मोबाइलको १ करोड १५ लाख र रक्सी बिक्रेताको १ करोड १५ लाख रुपैयाँ क्षति भएको नगरपालिकाले गठन गरेको समितिका संयोजक एवम् वडाध्यक्ष अनुप रानाले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal