काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रमपछि नेपालीहरुलाई सहज भएर बस्न अपिल गरेको छ ।
एनआरएनएले इजरायल, इरान, कतार, कुवेत, युएई, बहराइन लगायतका देशहरूमा बसोबास गरिरहेका नेपालीको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको जनाएको छ ।
मध्यपुर्वका देशहरुमा उत्पन्न कठिन परिस्थितिमाझ १९ लाख भन्दा बढी नेपालीहरुको सुरक्षा मुख्य प्राथमिकतामा राखी आवश्यक कदम चाल्नु जरुरी रहेको जनाएको छ ।
‘यस संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै, इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सावधानी अपनाउन हार्दिक अनुरोध गरिन्छ’ जारी सूचनामा भनिएको छ ‘सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्नुहोस् । अत्यावश्यक बाहेक बाहिर ननिस्कनुहोस् र सुरक्षित स्थानमै बस्नुहोस् । अनावश्यक यात्रा नगर्नुहोस् तथा स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्नुहोस् ।’
एनआरएनएले राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी), गैरआवासीय नेपाली संघको सचिवालय, स्थानीय नेपाली समुदाय, नेपाली राजदूतावास र सम्बन्धित निकायहरूसँग नियमित सम्पर्कमा रहन भनेको छ ।
हालको अवस्था सामान्य नभएसम्म , इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा यात्रा गर्ने योजना स्थगित गर्न समेत अनुरोध गरेको छ ।
साथै, नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न गैरआवासीय नेपाली संघ अनुरोध गरेको छ । यसका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग सहकार्यका लागि समेत तत्पर रहेको जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्