अमेरिका, इजरायल र इरानबीचको द्वन्द्व चौथो सातामा पुगेको छ । यसको प्रत्यक्ष असर खाडी क्षेत्रमा स्पष्ट देखिन थालेको छ। सुरुमा इरानको युद्ध–रणनीति केवल इजरायललाई लक्षित जस्तो देखिएको थियो। तर, केही दिनमै उसले आफ्ना प्रहार खाडी सहयोग परिषदका सदस्य राष्ट्रहरूतर्फ मोडिदियो । जसमा सबभन्दा बढी असर परेका देशमध्ये युनाइटेड अरब इमिरेट्स (यूएई) प्रमुख रह्यो।यसले यूएई मात्रै होइन, सम्पूर्ण खाडी क्षेत्रलाई असामान्य सुरक्षा जोखिममा डुबाएको छ।
इरानले द्वन्द्वको प्रारम्भमै अमेरिकी सैन्य संरचना मुख्य लक्ष्य हुने घोषणा गरेको थियो। तर घटनाक्रमले देखाएको वास्तविकता फरक रह्यो—इरानका हजारौँ ड्रोन र मिसाइल प्रहारहरू खाडी देशहरूतर्फ मोडिए। युद्धको पहिलो ११ दिनको तथ्यांक हेर्दा जहाँ इजरायलमा ४३३ हमला भए, त्यही अवधिमा खाडी राष्ट्रहरूमा करिब ३,१०० प्रहार गरिए। यसले इरान युद्धलाई बहुआयामिक बनाउँदै आफ्नो रणनीतिक उद्देश्यलाई फराकिलो बनाइ रहेको संकेत गर्छ।
दुबई सार्वजनिक नीति अनुसन्धान केन्द्रका प्रमुख मोहम्मद बहारुनका अनुसार इरानले यूएईलाई ‘सबैभन्दा सजिलो लक्ष्य’का रूपमा हेर्छ। उनको विश्लेषणमा यूएईमाथि लगातार प्रहार गर्दा खाडी क्षेत्रका अन्य राष्ट्रहरू—साउदी अरब, कतार, ओमान, कुवेत र बहरीन—स्वत: दबाबमा पर्छन्। यही ‘श्रृङ्खलागत प्रभाव’ इरानको रणनीतिक सोचको केन्द्रीय तत्व रहेको उनीहरू बताउँछन्।इरानी नेतृत्वको बुझाइमा ‘पहिलो ढुङ्गा हल्लियो भने बाँकी ढुङ्गाहरू आफैं खस्छन्।’
युद्ध सुरु भएपछि इरानले यूएईका थुप्रै महत्वपूर्ण संरचनाहरूलाई प्रहारको लक्ष्य बनाएको विभिन्न खाडी सुरक्षा कर्मचारीहरूले पुष्टि गरेका छन्। ती संरचनामध्ये हबशन ग्यास प्रशोधन केन्द्र, बाब तेल क्षेत्र, अल–धफ्रा एयर बेस, फुजैरा बन्दरगाह, तेल भण्डारण केन्द्रहरू र दुबई अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख छन्। इराकको कुर्दिस्तान क्षेत्रमा अवस्थित इरबिलमा रहेको यूएईको वाणिज्य दूतावाससमेत ड्रोन आक्रमणको लक्ष्य बनेको छ।
इरानले यूएईका सर्वसाधारण नागरिकलाई ‘बन्दरगाह, गोदाम, अमेरिकी सैन्य संरचना तथा भिडभाड हुने स्थान’ बाट टाढा रहन सार्वजनिक चेतावनी समेत दिएको छ। इरानको दाबी अनुसार यूएईमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गर्नु ‘आत्मरक्षाको वैध अधिकार’ हो। तर, यूएईले आफ्नो भूभाग अमेरिकी आक्रमणका लागि प्रयोग भएको आरोपलाई अस्वीकार गर्छ।
दीर्घकालीन रूपमा व्यापार, लगानी र पर्यटनको प्रमुख आधार बनेको यूएईको ‘सुरक्षित, स्थिर र खुला हब’ को छवि अहिले गम्भीर चुनौतीमा परेको छ। अबुधाबीको मुख्य शेयर सूचकांक एक महिनामा ११.४२ प्रतिशतले घटेको छ, जुन युद्धजन्य जोखिमको सिधा असर हो। यूएईजस्तो ठूलो लगानी केन्द्रमा यस्तो तीव्र गिरावट दुर्लभ मानिन्छ।
विमान तथा पर्यटन, जहाँ यूएई विश्वकै प्रमुख ट्रान्जिट हबका रूपमा परिचित छ, यो द्वन्द्वको पहिलो शिकार बन्यो। युद्धको पहिलो सातामै खाडीका छ वटा विमानस्थलले झण्डै ४० करोड अमेरिकी डलर बराबरको क्षति बेहोर्नुपर्यो, जसमा यूएई मात्र करिब ९.५ करोड बराबरको नोक्सानीको भागीदार बन्यो। उडानरद्द, मार्ग परिवर्तन, यात्रु आगमन घट्नु तथा हवाई क्षेत्र बन्द हुनुले यूएईको दशौँ वर्षमा निर्माण भएको अन्तर्राष्ट्रिय ‘सुरक्षित उड्डयनकेन्द्र’ को छवि कमजोर बनाएको छ।
तेल तथा ऊर्जा क्षेत्र पनि समान रूपले प्रभावित भएको छ। होर्मूजजलडमरूमध्य बन्द हुँदा यूएईको दैनिक तेल उत्पादन आधाभन्दा कममा झरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्। होर्मूज खाडी विश्व व्यापार र ऊर्जा आपूर्तिको सबैभन्दा संवेदनशील बिन्दु हो, जहाँ व्यवधान आउँदा केवल यूएई मात्र होइन, सम्पूर्ण अन्तर्राष्ट्रिय बजार नै हल्लिन्छ।
यूएई र इरानबीच २०२१ यता क्रमशः सम्बन्ध सुधारको वातावरण बन्दै गएको थियो। २०२३ मा चीनको मध्यस्थतामा भएको इरान–साउदी समझौताले खाडी क्षेत्रमा केही सकारात्मकता ल्याएको थियो। तर वर्तमान द्वन्द्वले ती कूटनीतिक प्रयासहरू पूर्ण रूपमा उल्ट्याइदिएको छ। यूएईले तेहरानस्थित आफ्नो दूतावास बन्द गरेको छ र सबै कूटनीतिक कर्मचारी फिर्ता बोलाइसकेको छ। दुईदेशबीच आरोप–प्रत्यारोप तीव्र रूपमा बढेका छन्।
क्षेत्रीय स्रोतहरूका अनुसार, आवश्यकता परे यूएई र साउदी अरब दुवै इरानविरुद्धको सैन्य तयारीतिर क्रमशः झुकिरहेका देखिन्छन्।यदि यस्तो कदम अघि बढ्यो भने यूएई–इरान सम्बन्ध सामान्य अवस्थामा फर्कने सम्भावना निकट भविष्यमा समाप्त हुने विशेषज्ञहरू बताउँछन्।
युद्धको बीचमा यूएई सरकारले आम नागरिकलाई ‘सबै कुरा नियन्त्रणमा रहेको’ सन्देश दिन निरन्तर प्रयास गरिरहेको छ।राष्ट्रपति मोहम्मद बिन जायदले ‘राज्य हरेक चुनौती सामना गर्न सक्षम छ’ भन्दै जनताको मनोबल उकास्ने प्रयास गरेका छन्।अर्कोतर्फ, संघीय अटर्नी जनरलले युद्धसम्बन्धी तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न कडा निर्देशन जारी गरेका छन्। यस निर्देशनको उल्लङ्घन गर्ने केही विदेशी नागरिक पक्राउ परेका छन्, जहाँ एक वर्षसम्मको जेल सजाय समेतकोप्रावधान छ। सरकारको मूल रणनीति स्पष्ट छ—दुर्बल छवि बाहिर नजाओस् भन्ने।
विश्लेषकहरूका अनुसार अहिलेको युद्ध खाडी क्षेत्रको शक्ति–सन्तुलन मात्रै होइन, दीर्घकालीन आर्थिक तथा सुरक्षा संरचनालाई पुनःआकार दिने अवस्थामा पुगेको छ। र यस परिवर्तनको केन्द्रबिन्दु यूएई नै हो। अमेरिकासँगको घनिष्ठ सहयोग, इजरायलसँगको औपचारिक सम्बन्ध, विश्व उड्डयन तथा व्यापारमार्गमा अवस्थित निर्णायक स्थान, डिजिटलीकरण र लगानीमैत्रीनीतिका कारण यूएई क्षेत्रीय राजनीति र सुरक्षा समीकरणमा अत्यन्त संवेदनशील बनेको छ।
यूएईको ‘सुरक्षित हब’ कहलिने छवि अहिले इतिहासकै सबैभन्दा ठूलो परीक्षामा छ। आर्थिक सूचकांक घट्दै गएका छन्, उड्डयन, पर्यटन, तेल उत्पादन र व्यापारमा व्यापक प्रभाव परेको छ। तर,वास्तविक चुनौती अब युद्ध समाप्त भएपछि विश्वसनीयता कसरी पुनर्निर्माण गर्ने भन्नेमा रहन्छ। लगानीकर्ताका लागि ‘स्थिरता’ नै पहिलो आधार हो।
तर विपरीत रूपमा, यूएईसँग अझै बलियो कूटनीतिक पहुँच, अन्तर्राष्ट्रिय साझेदारी, आर्थिक क्षमता र सुरक्षा पूर्वाधार छन्, जसको आधारमा उसले आफ्नो छवि पुनः सुदृढ गर्न सक्ने विश्लेषकहरूको ठम्याइ छ।
तैपनि वर्तमान यथार्थ कडाइका साथ उभिएको छ— जबसम्म युद्धजारी रहन्छ, यूएईको सुरक्षा वातावरण, आर्थिक प्रतिष्ठा र‘सुरक्षित हब’ को पहिचान निरन्तर जोखिममै रहनेछ।विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा












प्रतिक्रिया दिनुहोस्