Skip to content

कर्मचारीलाई नवनियुक्त अर्थमन्त्री वाग्लेले भने, ‘राजनीतिक पूर्वाग्रह राख्दिन, घुस खाने र खुवाउने काम सकियो’

देश कसरी बनाउने भन्ने लोकसेवा पास गर्दा लेखेको निबन्ध सम्झनुस् 

काठमाडौं । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले आफु कुनै राजनीतिक पूर्वाग्रह नराख्ने र घुसखोरी अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्री नियुक्त भएसंगै मन्त्रालयम कर्मचारी सम्बोधन कार्यक्रममा उनले कर्मचारीहरूलाई लोकसेवा आयोग पास गर्दा लेखेको ‘देश कसरी बनाउने’ भन्ने निबन्ध सम्झिन आग्रह गरे।

उनले आफूहरू अर्थ–राजनीतिक महत्त्वपूर्ण जनादेशसहित आएको र अब नियमित प्रक्रियाबाट मात्र होइन, आवश्यक परे क्रमभंग गरेर पनि सुधार अघि बढाइने जानकारी दिएका छन् । ‘म कर्मचारीलाई गाली गर्न आएको होइन,’ उनले भने, ‘राजनीति गर्ने हामी असल भयौं भने तपाईंहरू पनि गलत गर्न सक्नुहुन्न। माछा टाउकाबाट बिग्रिन्छ भन्ने भनाइलाई हामी उल्ट्याउनेछौं।’

अर्थमन्त्री वाग्लेले सुशासन र जनताको हितका लागि कुनै सम्झौता नहुने स्पष्ट पार्दै राम्रो काम गर्नेलाई सधैं साथ दिने तर गलत बाटोमा हिँड्नेलाई संरक्षण नगर्ने चेतावनी दिए। ‘राम्रो हुनुहुन्छ भने तपाईंहरू मेरो साथी हो, तर गलतमा हुनुहुन्छ भने म माया गर्न सक्दिन,’ उनले भने।

उनले आफूले कुनै राजनीतिक पूर्वाग्रह नराख्ने र मेरिट तथा इमान्दारीतालाई मात्र आधार बनाउने बताए। पुराना दलगत प्रभावबाट टाढा रहन कर्मचारीलाई आग्रह गर्दै उनले आजैदेखि जनहितमा केन्द्रित निर्णयहरू सुरु हुने संकेत दिए।

घुसखोरीप्रति कडा रूपमा प्रस्तुत हुँदै उनले भने,‘अब क्याप्चर गरेर घुस खाने वा खुवाउने समय सकियो।’ अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन आर्थिक पुनर्संरचना गरिने र आगामी बजेटमार्फत आर्थिक राजकाजमा रुपान्तरण ल्याइने उनले बताए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T