Skip to content
Prabhu

पुँजीबजार र रियल स्टेटको निराशा अब आशामा बदलिन जरुरी छः मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंकका डि सीईओ मनोज ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटमा टिप्पणी गर्दै पुँजी बजार र रियल स्टेटको निराशालाई आशामा बदल्न जरुरी रहेको बताएका छन् । बजेट सार्वजनिक भए पनि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ज्ञावालीले निराशालाई आशामा बदलिन जरुरी रहेको बताएका हुन् ।

सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ चालु र ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत खर्चको विनियोजन गरिएको छ । ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ वित्तीय व्यवस्थाका लागि विनियोजन गरिएको छ । १९.७३ प्रतिशत पूँजीगत खर्चमा– गत वर्ष भन्दा केही अंश थपेर आएको छ ।

सम्भावनाका नयाँ क्षेत्र पहिचान गरेको छ । आयमा चाप परेको थाहा हुँदै गर्दा पनि गत वर्ष जस्तो अनापसनाप हिसाबले जसरी कर उठाउनुपर्छ भन्ने आशयबाट बजेट आएको छैन । निर्यातलाई प्रबर्द्धन गर्न करमा सहजता प्रदान गर्न खोजेको छ । स्टार्टअप लाई प्रोत्साहित गर्ने सोच राखेको छ । नयाँ क्षेत्रको पहिचानसम्म भए पनि सुुरुवात भएको छ ।

आयमा यस्तो दबाव हुँदै गर्दा पनि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने प्राथमिकताका साथ बजेट पेश हुनु सकारात्मक छ। कसैलाई गज्जब नहुँदा पनि बजेट पेस हुँदै गर्दा कुनै क्षेत्र हतोत्साहित र निराश भएको छैन । आर्थिक विधेयकको भित्र यताउती गरिएको र दुई अर्थ लाग्ने कुरा छैनन् भन्ने अपेक्षा छ ।

चालु आर्थिक वर्षको १०.५ महिनासम्म कुल श्रोत संकलन ९ खर्ब रुपैयाँ पुगेको छैन र आजको अवस्था त्यति आशालाग्दो छैन । यसरी हेर्दा यो अंकको दुईगुणा बढिको लक्ष्य धेरै महत्वाकांक्षी देखिन्छ । बजेटको आय लक्ष्य पुरा हुनका लागी बैंकिङमा रहेको तरलता विस्तारै बजारमा जान, उद्यमीहरुमा उत्साह थपिन र उनीहरुको व्यक्तिगत तथा लगानीको सुरक्षा राज्यसत्ताले लिन्छ भन्ने विश्वास दिलाउन, पुँजीबजार र रियलस्टेटमा निरन्तर छाएको निराशा अब आशामा बदलिन जरुरी छ । यी कुराहरुको हेक्का राज्यका सम्बन्धित निकायहरुले निरन्तर राख्न जरुरी छ ता कि यो बजेट गत वर्षको बजेट जस्तै संशोधित हुँदा पनि अंकमा मात्र सीमित नहोस ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal