काठमाडौं । लेबनानको कृषि मन्त्रालयका अनुसार, लगातारका इजरायली आक्रमणले करिब ४६ हजार ४७९ हेक्टर कृषि भूमि नष्ट गरेको छ, जुन देशको कुल खेतीयोग्य क्षेत्रको २२ प्रतिशत हो ।
अधिकांश नोक्सान लेबनानको मुख्य कृषि क्षेत्र दक्षिण र नबातिये प्रान्तमा केन्द्रित छ, जहाँ ४४ हजार २९७ हेक्टर भूमि प्रभावित भएको छ, अन्य क्षेत्रहरूमा मात्र दुई हजार १८१ हेक्टर प्रभावित भएको मन्त्रालयले जनाएको छ ।
फलफूल र जैतुनका रूख, हरित गृह, साना र मध्यम आकारका फार्महरू सबैभन्दा बढी प्रभावित भएका छन् । प्रभावित क्षेत्रका १५ हजार २५ किसानहरूमध्ये ७६ दशमलव ६ प्रतिशत विस्थापित भएका छन् । विशेषज्ञहरूले यसरी ठूलो विस्थापनले कृषि उत्पादनमा निरन्तरता र खाद्य सुरक्षा जोखिम बढाउने चेतावनी दिएका छन् ।
मन्त्रालयले किसानहरूको प्रत्यक्ष सहयोगमा केन्द्रित प्रतिक्रिया योजना घोषणा गरेको छ । यसमा पशुपालन संरक्षण, खाद्य आपूर्ति श्रृङ्खला सुनिश्चित गर्नु, बजार सहयोग, मूल्य निगरानी मजबुत पार्नु र आवश्यकताहरू निरन्तर मूल्याङ्कन गर्न सम्बन्धित निकायसँग समन्वय गर्नु समावेश छ ।
यसका साथै, आपतकालीन कदमहरूमा एक हजार ५१२ किसानलाई सहयोग पु¥याउने, करिब दुई हजार परिवारलाई आश्रय प्रदान गर्ने र ८२० मौरीकोठा सुरक्षित स्थानमा सार्ने कार्य पनि लेबनानी सेनासँगको सहकार्यमा सम्पन्न गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्