जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले दायर गरिएका प्रअमहतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध आर्थिक वर्ष २०७९/८० मा विद्यालयलाई प्राप्त १ लाख ४५ हजार ३५० छात्रावृत्ति रकम हिनामिना गरेको आरोप लागेको छ ।
प्रअमहतले २०८० चैत २१ मा कक्षा १ देखि ५ सम्मका छात्राहरूलाई छात्रवृत्ति रकम एक हजारको दरले ८३ जनालाई र कक्षा ६ देखि ८ सम्मका छात्राहरूलाई एक हजार ४८५ रुपैयाँ २३ पैसाका दरले ४४ जनालाई ६५ हजार ३५० गरी एक लाख ४८ हजार ३५० वितरण गरेको भर्पाइ तातोपानी गाउँपालिकालाई पठाएको देखिएको जनाइएको छ ।
विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण गरेको नदेखिएको तथा प्रतिवादीहरूले एकापसमा मिलेमतो गरी २०८० असोज २१ गते झुट्टा भर्पाइ पुन: कीर्ते गरी २०८० चैत २१ मा छात्रवृत्ति वितरण गरेको अर्को झुट्टा भर्पाइ तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा उनीहरूविरुद्ध एक लाख ४५ हजार ३५० बिगो रकम कायम गरी कैद र जरिवानाको सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएकोे छ ।












प्रतिक्रिया दिनुहोस्