काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुनै संस्था वा व्यक्तिलाई छानेर दुःख दिने सरकारको कुनै नियत नरहेको प्रष्ट पारेका छन् ।
आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटमा मन्त्री वाग्लेले यस्तो प्रष्ट्याएका हुन् । उनले यो सरकारले खुलाबजार अर्थनीति मान्ने स्मरण गराए । खुला बजार मान्छौ भन्दै गर्दा त्यसलाई छाडा अर्थतन्त्रको रुपमा बुझ्न नहुने बताए ।
मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण लगायतका वित्तीय अपराधमा वर्षौंदेखि भएका अनुसन्धान अकाट्य प्रमाणका आधारमा अघि बढेको जानकारी गराए । ‘‘ह्वाइटकल क्रराइमलाई आर्थिक जरिवाना नै गर्ने ध्येय हो । संस्था वा व्यक्ति छानेर दुःख दिने हाम्रो कुनै नियत छैन । हामी खुलाबजार अर्थनीति मान्छौ । त्यो भनेको छाडा अर्थतन्त्र होइन ।’’
भेटमा मन्त्री वाग्लेले कसैलाई लक्षित गरेर कारबाही गरेको नभइ कानुनअनुसार अघि बढाउने जानकारी गराए । उनले अपराधबाट कसैलाई छुट नदिने र निजी क्षेत्रलाई धरपकड पनि नगर्ने बताए ।
उनले भेटमा सेयर बजारमा त्रास फैलाउने काम भइरहेको भन्दै साना लगानीकर्तालाई आतंकित पार्ने काम भएको बताए । यसलाई उचित मान्न नसकिने वाग्लेको भनाइ छ । सरकारले साना लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य नराखे बताए ।
सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी रहेको उल्लेख गरे । उनले पेपरलेस प्रणाली, बैंक मार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्यो वा बेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय रहेको उल्लेख गरे । सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्रको रूपमा लिएको बताए । ‘‘प्रधानमन्त्रीले पनि अन्य क्षेत्रमा पनि स्टक मार्केटको जस्तो डिजिटलाइजेसन गर्न खोज्नु भएको छ’’ उनले भने ।
स्टक मार्केटमा आएर “सम्पत्ति कहाँबाट ल्यायौ ? भनेर सोध्ने अवस्था नरहेको बताए ।
उनले यदि कसैले, इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गरेको छ भने विद्यमान कानुन अनुसार मात्र कारबाही हुने जानकारी गराए । उनले अब बजारमा प्यानिक हुन आवश्यक नरहेको र आगामी दिनहरूमा सेयर बजार सुधारका लागि पनि काम बताए ।
वाग्लेले नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर सुधार अघि बढाइने जानकारी गराए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रका बुँदा ३३ र ३४ कार्यान्वयन गर्ने हो र ती बुँदा लगानीकर्तालाई अध्ययन गर्न आग्रह गरे । ‘‘अहिले बजार घटेको अवस्थामा अतालिनु आवश्यक छैन, सुनौला दिन आउँदैछन्” उनले भने ‘‘ यो सरकारले २६५ साता काम गर्दैछ। एक साताको समयलाई अहो के गर्ने भन्ने अवस्था होइन ।’’
उनले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु पहिलो प्राथमिकता रहेको र ग्रे लिस्टले अन्तर्राष्ट्रिय बदनामी भएको र लगानीको वातावरणमा नकारात्मक असर पार्ने बताए ।
‘‘ग्रे लिष्टबाट बाहिर ल्याने सवालमा कागमजमा मात्रै कुरा गर्ने बाहिर नल्याउने भन्ने परेको छ’’ उनले भने ‘‘हामी अहिले लागू पनि गर्ने चरणमा प्रवेस गरेका हौँ।’’












प्रतिक्रिया दिनुहोस्