काठमाडौं । चालू आर्थिक वर्षको ९ महिना नेपालमा ४१ अर्ब ७९ करोड ८५ लाख ८० हजार २५२ रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका अनुसार चैत मसान्तसम्म उक्त रकमको ६१५ वटा परियोजनाका लागि उक्त रकमको वैदेशिक लगानी प्रतिबद्धता भएको हो ।
विभागका अनुसार यो अवधिमा कृषि तथा वन पैदावारमा आधारित उद्योगमा २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ लगानी आएको छ । यो रकम १६ वटा आयोजनाका लागि लगानी प्रतिबद्धता आएको हो ।
यस्तै धेरै लगानी स्वीकृत भएको दोस्रो आयोजनामा पर्यटन क्षेत्र रहेको छ । पर्यटन क्षेत्रमा १६४ आयोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख लाख रुपैयाँ रुपैयाँ लगानी प्रतिबद्धता भएको छ ।
यस्तै सेवामूलक क्षेत्रमा ४७ आयोजनाका लागि ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ । विभागका अनुसार उत्पादनमूलक क्षेत्रका ३८ आयोजनामा २ अर्ब ५४ करोड ५६ लाख ४४ हजार रुपैयाँ, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका ३४६ आयोजनामा १ अर्ब ४५ करोड ७२ लाख ३६ हजार रुपैयाँ, ऊर्जा क्षेत्रमा २ वटा आयोजनाका लागि २३ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।
पूर्वाधार क्षेत्रमा भने कुनै लगानी भित्रिएको छैन । विभाग अनुसार ६१५ आयोजनामध्ये ५९९ वटा आयोजना साना उद्योग रहेका छन् भने ८ वटा मध्यम र ८ वटा मझौला उद्योग रहेका छन् । यी आयोजना निर्माण हुँदा २३ हजार ३१६ नेपालीले रोजगारी पाउनेछन् ।
विभाग अनुसार चैत महिनामा मात्रै ६६ करोड ६ लाख रुपैयाँको ४९ वटा आयोजनाहरू स्वीकृत भएको छ ।












प्रतिक्रिया दिनुहोस्