Skip to content
Prabhu

५० हजारमा अमुन थापाले खोलेको ‘सस्तोडिल’ लगानीकर्ताको ६० करोड डुबाएर बन्द

काठमाडौं । काठमाडौंका अमुन थापा सन् २०११ मा अमेरिकामा पढेर फर्किए । हरेक पसल अनुसार हिडेर सामान किन्नुपर्ने समस्याले उनलाई नेपालमा अनलाइन व्यापारको आइडिया आयो । सन् २०११ मा नेपालमा विदेशमा बस्नेहरुको लागि सामान डेलिभरी गर्ने प्लेटफर्महरु मुन्चाडटकम सञ्चालनमा थियो ।

थापाले ५० हजार लगानीमा सफ्टवेयर इञ्जिनियर शोधन मानन्धर र वेबसाइट डिजाइनर श्रीजित राजभण्डारीलाईलाई सेयर हिस्सा दिने शर्तमा कम्पनीमा संलग्न गराएपछि सस्तोडिलको यात्रा शुरु भयो ।

५० हजार लगानीमा महिनाको २ हजार भाडा तिर्ने गरेर सस्तोडिलको यात्रा ग्यारेजबाट शुरु भएको थियो । नेपालमा इन्टरनेट सेवा सजिलो नहुँदै शुरु भएको सस्तोडिल शुरु भएको हो । इन्टरनेट सेवाको व्यापक बिस्तार र अनलाइनमा बजार बढ्दो क्रममा गएपछि प्रतिस्पर्धामा टिक्न नसकेपछि सस्तोडिल बन्द भएको हो ।

सस्तोडिल आफूमात्र बन्द भएन उसले भेञ्चर क्यापिटल कम्पनी र स्टार्टअप कम्पनीमा लगानी गर्ने लगानीकर्ताको करिब ६० करोड रुपैयाँ समेत डुबाएर बन्द भयो ।

“नेपालको सन्दर्भमा भन्नुपर्दा सस्तोडिलले लगानीकर्ताको ठूलो पैसा डुबाएर बन्द भयो,”सस्तोडिलमा लगानी गरेका एक लगानीकर्ताले सुनाए,“यसले सफल हुन लागेको स्टार्टअप पनि व्यवस्थापिय कमजोरीको कारण सफल हुन नसक्ने सन्देश दिएको छ।”

अनलाइन सपिङ साइटमा बन्द हुनेमा सस्तोडिलमात्र एउटा कम्पनी होइन । सस्तोडिलपछि आएका मुकुण्डो, हरिलो डट कम, ई झोला डट कम, भाटभटेनी अनलाइन डट कम, थ्रिडपेन्ट्स डटकम, उपहारहरु डटकम, सपमान्डु डटकम,सपिङनेपाल डटकम, नेपाली बजार डटकम, पसल डटकम, आइसप नेपाल डटकम, किनमेल डटकम, रोजेको डटकम बन्दजस्तै अवस्थामा छन् ।

 

यसमा फरक भनेको सस्तोडिल सानो लगानीमा शुरु भएर लगानी उठाउदै ठूलो कम्पनी बन्न सफल भएको थियो । स्टार्टअपको भाषामा भन्दा नेपाली संस्करणको सस्तोडिल ‘युनिकर्न’बन्ने तयारीमा थियो ।

सस्तोडिल बन्द हुनुको पछाडिको मुख्य कारणको रुपमा चीनको ‘अलिबाबा’लगानी रहेको दराजको नेपाल प्रवेशलाई प्रमुख कारण मानिएको छ । दराजको इन्ट्रीसँग सस्तोडिलले व्यवसायलाई अगाडि बढाउन सकेन । यस्तै सफलता प्राप्त गर्दै गएका संस्थापक अमुन थापाले दोस्रो चरणमा कम्पनीको पुनरसंरचना गर्न असफल भए ।

“मिडिया सरोकारवालाले फण्ड रेजलाई आधार मानेर स्टार्टअप कम्पनीका संस्थापकलाई सेलिब्रेटी बनाउने काम भयो,”एक भेञ्चर क्यापिटलका लगानी अधिकृतले भने,“भिसीबाट पैसा सजिलोसँग आउछ,त्यसैबाट चलिन्छ भन्ने आत्मविश्वासले गर्दा सफलता नजिक पुगेका स्टार्टअप कम्पनी असफल भएको हो।”

भेञ्चर क्यापिटलको पैसा मात्र खर्च गरेको व्यवसाय सिर्जना नगरेको आरोप नेपालमा मात्र नभएर स्टार्टअपमा निकै अगाडि बढेको भारतीय स्टार्टअपका संस्थापकहरुलाई पनि लाग्ने गरेको छ । भिसीको पैसा हुँदासम्म कागजी रुपमा कम्पनीको भ्यालुएसन बढाउने गरेको मात्र आरोप लाग्छ ।

सस्तोडिलका अमुनको हकमा पनि यो विषय लागू हुन्थ्यो । ५० हजारमा खोलेको उनको कम्पनीमा लगानी गर्न नाम चलेका लगानीकर्ता आएका थिए । जसले गर्दा कम्पनी सञ्चालन गर्नको लागि उनको लागि केही समय नगदको अभाव भोग्न परेन ।

सस्तोडिलमा लगानी गरेका लगानीकर्ताका अनुसार अमनको व्यवस्थापिक कमजोरी बाहेक नेपालमा अनलाइन व्यापारको लागि अझै नबनेको परिस्थिति र व्यापारमा अभ्यस्त भएको पुस्ताको पलायन पनि अर्को कारण हो । “अनलाइन व्यापारमा अझैपनि नेपाली समाजलाई बानी नलागेको देखियो,”ती लगानीकर्ताले भने,“जसालाई अनलाइनमा किन्ने बानी लागेको थियो,त्यो पुस्ता पलायन भए।”

सस्तोडिलमा लगानी गरेर पैसा डुबाउने लगानीकर्तामा डोल्मा फण्ड,आइएमई ग्रुप,आइटिसी ग्रुप,एनआईबिएल एस क्यापिटल,रमेश कर्प रहेका छन् । यसबाहेक अन्य लगानीकर्ताको पनि यसमा लगानी रहेको छ । जसमा सबैभन्दा बढी लगानी गरेको डोल्माको ३५ करोड,आइएमई ग्रुपको ५ करोड,एनआईबिएल एस क्यापिटलको १ करोड, रमेश कर्पको १ करोड तथा आइटिसी १ करोड लगानी डुबेको छ । सबैगर्दा करिब ६० करोड जतिको लगानी डुबेको देखिन्छ । “कम्पनीमा गरेको लगानी डुब्यो भन्नेमा हामीहरु करिब निश्चित छौ,”एक लगानीकर्ताले भने,“सम्भावना भएको स्टार्टअपमा जोखिमपनि छ भन्ने सन्देश दियो।”

यो विषयमा कुरा गर्न सस्तोडिलका संस्थापक थापासँग सम्पर्क हुन सकेन ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal