Skip to content
Prabhu

तरकारीखेतीबाट वार्षिक ५० लाख कमाउँदै ‘बक्सिङ’ प्रशिक्षक राजु थापा

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गरेका छन् । दिउँसो र साँझ जागिर र होटलतिर व्यस्त भए पनि बिहानको समय तरकारीखेतीलाई दिने गरेको उनले बताए । ‘म बक्सिङ प्रशिक्षक हुँ, दिउँसो जागिरतिर जान्छु’, उनले भने, ‘साँझ होटलतिर पनि हुर्नुपर्छ, बिहान र कहिलेकाहीँ साँझ मात्रै तरकारीलाई समय दिएको छु ।’

कोरोना महामारीको सुरुआतमा भएको ‘लकडाउन’का बेलादेखि उनले व्यावसायिक तरकारीखेती सुरु गरेका हुन् । सुरुमा पाँच जनाले संयुक्त तरकारीखेती गरेको भए पनि पछिल्लो दुई वर्षयता राजु एक्लैले उक्त तरकारीखेती गरेका छन् । उनले करेला, बोडी, काँक्रा, लौका, फर्सीलगायतका खेती गरेका छन् ।

डेढ बिघा क्षेत्रफलमा बोडी, डेढ बिघा क्षेत्रफलमा काँक्रा, १५ कट्ठा क्षेत्रफलमा लौका, एक बिघामा करेला, दुई बिघा जतिमा टमाटर तथा १५ कट्ठामा स्पाइस खेती गरेको राजु बताए। तरकारी खेतीमा उनले ४५ जनालाई रोजगारीसमेत दिएका छन् । १० जना मासिक तलब दिएर कामदार राखेका छन् । उनीहरुलाई मासिक २५ हजारसम्म तलब छ, भने बाँकीलाई ज्यालादारीमा रोजगार दिइएको राजुले बताए । उनका अनुसार ज्यालादारीलाई दैनिक पाँचसयका दरले दिने गरेको उनले बताए। रोजगार पाएका सबै गाउँकै हुन् । गाउँमै रोजगारी पाउँदा स्थानीय पनि खुसी भएका छन् । ‘गाउँमै रोजगारी पायौँ, पहिले लेबर गर्न बजार जानुपर्थ्यो’, ज्यालादारीमा काम गरिरहेकी शर्मिला चौधरीले भने, ‘तर, अहिले गाउँमै रोजगारी पाएका छौँ ।’

त्यहाँ उनले दुई याममा तरकारीखेती गर्दै आउनुभएको छ । हिउँदे र वर्षे तरकारीखेती गर्दै आएका उनले एक सिजनमा रु २० लाखदेखि बढी आम्दानी गर्दै आएका छन् । ‘एक कुनै समय बजारले भाउ नपाउने, नियमित बर्सात हुँदा तरकारी क्षति हुने गरेको अवस्था पनि छ’, उनले भने, ‘त्योबाहेक राम्रो हुँदै गएमा एक सिजनमा रु २० लाखभन्दा बढी पनि आम्दानी हुने गर्छ ।’

एक याममा ४५ लाख रुपैयाँ खर्च आउने गरेकोसमेत उहाँले बताए । वर्षमा दुई सिजन खेती हुँदा वार्षिक १ करोड रुपैयाँ खर्च हुने र त्यो खर्च कटाएर ५० लाखको हाराहारीमा आम्दानी हुने गरेको उनको भनाइ छ । तरकारीले वैशाख १५ गतेसम्म राम्रो मूल्य पाउने गरेको भएपनि त्योभन्दा पछि भने विस्तारै मूल्य घट्दै जाने गरेको उनले बताए। ‘बजार भाउमा सरकारले अलि कति ख्याल गरिदिए हुन्थ्यो, सबैतिर मूल्यमा एकरुपता भएमा सहज हुन्थ्यो’, उनले भने, ‘तीन दिनअघि मात्रै होलसेलमा रु ७० किलो बिक्री हुने गरेको बोडी हिजोआज मात्रै ३० रुपैयाँमा बिक्री गर्नुपरेको छ’, उनले भने, ‘टमाटर ३० रुपैयाँ थियो, एक्कासि २० रुपैयाँ भयो ।’ दिनप्रतिदिन यसरी तरकारीको मूल्य एक्कासि घट्दै गइरहेको उनको भनाइ छ ।

उत्पादित तरकारी दाङको बजारमा मात्रै होइन, बाहिरी जिल्लामा समेत निर्यात हुने गरेको छ । सुर्खेत, धनगढीलगायतका बजारमा तरकारी निर्यात हुने गरेको थापाले बताए । १० बिघा जग्गालाई वार्षिक ५ लाख तिरेर भाडामा लिइएको प्रशिक्षक थापाको भनाइ छ ।

तरकारीखेतीबाट आम्दानी राम्रै लिन सकिने भए पनि यसमा सरकारले थप सहजता भने बनाउनुपर्ने उनको माग छ । ‘समयमा मल पाइँदैन, मल महँगोमा किनेर ल्याउनु पर्छ’, उनले भने, ‘मूल्यमा पनि एकरुपता ल्याइदिए सहज हुन्थ्यो ।’

उनले लामो समय बक्सिङ खेलाडीका रुपमा पनि थिए । २०४८ देखि ०५४ सम्म बक्सिङ खेलाडीका रुपमा रहेका उनले तीनवटा राष्ट्रिय खेल पनि खेलेका छन् । अहिले प्रशिक्षकका रुपमा रहेका उनले उत्पादन गरेका चेला अन्तर्राष्ट्रिय खेलका लागिसमेत छनोट हुनुभएको थियो । तर, उनले लकडाउनले गर्दा त्यो खेल खेल्न जान पाएनन् । उनले ४९ औँ खाद्य दिवसका अवसरमा लुम्बिनी प्रदेशबाट सम्मानितसमेत भएका थिए । तरकारी विधामा उनले सम्मानित भएका हुन् । उहाँ तुलसीपुर–४ वनहरी निवासी हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal