काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय बचतको सहज अवस्थाले लगानीको अवसर रहेपनि व्यावसायिक वातावरण सहज नभएकोले निजी क्षेत्रको उत्साह बढ्न नसकेको जनाएको छ ।
आज मन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै यस्तो जनाएको छ । मन्त्रालयका अनुसार कुल गार्हस्थ्य बचत न्यून रहेकोले बचत र लगानीको खाडल फराकिलो छ ।
विगत एक दशकमा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल गार्हस्थ्य बचत वार्षिक औसत ८.५ प्रतिशत र कुल लगानी औसत ३३.९ प्रतिशत रही गार्हस्थ्य बचत लगानी अन्तर औसत २५.४ प्रतिशतले ऋणात्मक रहेको छ। तर, विप्रेषण आय उल्लेख्य बढेको कारण कुल राष्ट्रिय बचत यस अवधिमा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा औसत ३५.८ प्रतिशत रहेको छ ।
यस्तै लगानीमा शिथिलता आएकोले समग्र लगानीभन्दा राष्ट्रिय बचत अधिक देखिएको हो । अर्कोतर्फ, विगत दश वर्षमा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल उपभोग वार्षिक औसत ९१.५ प्रतिशत रहेको छ।












प्रतिक्रिया दिनुहोस्