Skip to content
Prabhu

किमाथांका नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै

सङ्खुवासभा । चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि भोटखोलाको दैनिकी सहज बन्दै गएको छ ।

यही जेठ १२ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्वत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा एक समारोहका बीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ नाका पुनःसञ्चालनमा आएको घोषणा गरेका थिए। कोरोना महामारीका बेला चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो ।

नाका पुनःसञ्चालनमा ल्याइ सीमावर्ती क्षेत्रमा सहज आवतजावतको व्यवस्था मिलाउन भोटखोलावासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । नाका सञ्चालनमा आएपछि भोटखोलाका व्यापारीले तीन दिनमा रु एक करोड बराबरको कारोबार गरेको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए ।

नाका सञ्चालन भएपछि यहाँका ४३ जना व्यापारीले भोटखोलामा उत्पादित जडीबुटी, स्थानीयस्तरमा निर्मित हस्तकलाका सामग्रीबाट रु एक करोड कारोबार गरेका अध्यक्ष भोटेले बताए । ‘भोटखोलाका नागरिकले परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । हिमाली क्षेत्रमा उत्पादन हुने परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा सहजै प्रवेश पाएको छ । उत्तरी क्षेत्रमा रहेका व्यापार नाका खुलेसँगै सीमा क्षेत्रमा राज्यको उपस्थिति बढ्दै छ’, अध्यक्ष भोटेले भने ।

भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । त्यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ । आलु र कोदोमात्र उत्पादन हुँदै आएको त्यस क्षेत्रका नागरिकले सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु भित्राएर जीविका चलाउँदै आएका थिए । बन्द नाका खुलेपछि त्यो अवसरबाट बञ्चित भएका स्थानीयले अब चिनियाँ भूभागमा गएर रोजगारी गर्न पाउने अवसर खुलेको छ ।

किमाथाङ्कामा विसं २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो तर द्वन्द्वका कारण विसं २०५७ सालदेखि सदरमुकाम खाँदबारीबाट सञ्चालन हुँदै आएको छ ।

नाका खुलेपछि भोटखोलाका किमाथाङ्का, च्याम्ताङ्ग, चेपुवा, टियालगायतका स्थानीयलाई राहत मिलेको छ । सदरमुकामबाट सडक यातायात नजोडिएकाले खच्चरबाट उपभोग्य वस्तु ढुवानी गर्दा महँगो पर्दै आएको थियो । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेरमात्र नाकामा पुग्न सकिन्छ । खाँदबारी किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीबाट किमाथाङ्काको दूरी १६२ किमी छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal