Skip to content

सर्वोच्चको फैसलाको सम्मान गर्न एनआरएन अभियन्ता लोक दाहालले गरे आग्रह

 

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का एक अभियन्ता लोक दाहालले संघमा जारी विवादको पृष्ठभूमिमा  सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्नु पर्ने जनाएका छन्।

विगत २३ वर्षदेखि बेल्जियममा बसोबास गर्दै आएका एक सफल व्यवसायी दाहालले सर्वोच्च अदालतले गरेको निर्णयलाई  संघलाई  एकताबद्ध बनाउने एउटा अवसरको रुपमा लिनु पर्ने बताए। 

१० औं महाधिवेशन पछि गठित केन्द्रीय कार्य समितिमा कोषाध्यक्ष  तथा ११ औं महाधिवेशन पछि गठित आरके  शर्मा नेतृत्वको कार्यसमितिमा केन्द्रीय सचिवको जिम्मेवारी सम्हालेका दाहालले भने, ‘विगतका कमीकमजोरीको नैतिक जिम्मेवारी लिन हामी तयार छौं, तर संघलाई जोगाउने हो भने मिल्नुको विकल्प छैन। कुनै पनि तरिकाले अदालतको फैसलाको अवज्ञा र अपमान गर्ने काम उपयुक्त होइन। हामी संसारकै  लोकतान्त्रिक तथा सभ्य मुलुकहरुमा बस्छौं।  त्यसैले अदालतको फैसलाको सम्मान गर्नु हाम्रो  नैतिक जिम्मेवारी पनि हो।’

कोषको दुरुपयोग नगर्न चेतावनी

अभियन्ता दाहालले ११ औं महाधिवेशनमा गराइएको विवादित चुनाव पछि अध्यक्षको दावी गर्दै आएका बद्री केसी तथा टिमले गएको ६ महिनामा संघको कोष जथाभावी खर्च गरेको आरोप पनि लगाए।  गत अक्टोबर २०२२ मा तीन जना अध्यक्ष रहेको कार्य समितिले आफ्नो कार्यकाल पुरा गर्दा झन्डै २८ करोड रुपैयाँ कोषमा बचत थियो।  ‘अहिले संघको कोषमा जम्मा १५, १६ करोड रुपियाँ मात्रै रहेको बताइन्छ।  संसारभरिका गैर आवासीय नेपाली तथा राष्ट्रिय समन्वय परिषदहरुले  पठाएको रकम दुरुपयोग गर्ने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन।  टिम बद्रीले नै यसको जिम्मेवारी लिनु पर्छ,’ उनले भने।

दाहालले ट्रयाक बाहिर गएको संघलाई फेरि ट्रयाकमा ल्याउन ११ औं महाधिवेशनका क्रममा बनेको वाम– लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिनुपर्ने खाँचो रहेको पनि बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life