काठमाडौं । चालू आर्थिक वर्षको १० महिना नेपालमा ४५ अर्ब ३२ करोड १६ लाख ३ हजार १५२ रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म उक्त रकमको ७२८ वटा परियोजनाका लागि उक्त रकमको वैदेशिक लगानी प्रतिबद्धता भएको हो ।
विभागका अनुसार यो अवधिमा कृषि तथा वन पैदावारमा आधारित उद्योगमा २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ लगानी आएको छ । यो रकम १६ वटा आयोजनाका लागि लगानी प्रतिबद्धता आएको हो ।
यस्तै धेरै लगानी स्वीकृत भएको दोस्रो आयोजनामा पर्यटन क्षेत्र रहेको छ । पर्यटन क्षेत्रमा १८९ आयोजनाका लागि १२ अर्ब ५४ करोड ७० लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता भएको छ ।
यस्तै सेवामूलक क्षेत्रमा ५५ आयोजनाका लागि ४ अर्ब २३ करोड २४ लाख रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ । विभागका अनुसार उत्पादनमूलक क्षेत्रका ४२ आयोजनामा २ अर्ब ७० करोड ६६ लाख ४४ हजार २५२ रुपैयाँ, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका ४२१ आयोजनामा १ अर्ब ७४ करोड ३८ लाख ६० हजार रुपैयाँ, ऊर्जा क्षेत्रमा २ वटा आयोजनाका लागि २३ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।
यस्तै पूर्वाधार क्षेत्रमा १ परियोजनाका लागि १ अर्ब ६५ करोड ४४ लाख २२ हजार ९०० रुपैयाँको लगानी प्रतिबद्धता भएको छ ।
विभाग अनुसार ७२८ आयोजनामध्ये ७११ वटा आयोजना साना उद्योग रहेका छन् भने ८ वटा मध्यम र ९ वटा ठूला उद्योग रहेका छन् । यी आयोजना निर्माण हुँदा २३ हजार ३१६ नेपालीले रोजगारी पाउनेछन् ।












प्रतिक्रिया दिनुहोस्