काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्रीहरुले राजस्व लक्ष्यदेखि वित्तीय क्षेत्र सुधारसम्मका विषयमा आफ्ना धारणा राखेका हुन् ।
सुझाव लिने क्रममा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्री वाग्लेलाई बजेट निर्माण गर्दा ‘बाउन्ड्री’ भित्र रहेर काम गर्न सुझाव दिएका छन् । उनले राजनीतिले लोकप्रियता खोज्दै ठूलो लक्ष्य राख्न दबाब दिने भए पनि अर्थतन्त्रको यथार्थलाई आधार बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।
खतिवडाले राजस्व वृद्धिको सीमा १० देखि १२ प्रतिशतसम्म मात्रै राख्न आग्रह गर्दै अत्यधिक महत्त्वाकाङ्क्षी लक्ष्य नबनाउन सुझाव दिए । उनले राजस्व वृद्धिको सीमा १५ प्रतिशत नराख्न आग्रह गरेका छन् । उनले चालु आर्थिक वर्षमा पनि राजस्व संकलन अपेक्षाअनुसार नहुने उल्लेख गर्दै आगामी बजेट करिब साढे २० खर्ब रुपैयाँको बनाउन सकिने तर खर्च भने १६ देखि १७ खर्ब रुपैयाँ हाराहारीमै सीमित रहने बताए ।
उनले आयकरको तल्लो स्ल्याब नचलाउन, अन्तःशुल्क क्रमशः घटाउँदै लैजान तथा मूल्य अभिवृद्धि कर (मुअक)लाई दुई दरमा नलैजान सुझाव दिए । यसैगरी, संघीय सरकारले गर्ने विकास निर्माणका काम उपभोक्ता समितिमार्फत गराउने अभ्यास रोक्नुपर्ने धारणा पनि राखे ।
खतिवडाले स्वास्थ्य बीमाको दायरा विस्तार गर्दा राज्यको आर्थिक भार नबढ्ने गरी अघि बढ्नुपर्ने उल्लेख गर्दै कृषिमा अनुदान आवश्यक रहेको बताए । मधेस क्षेत्रमा कृषिको योगदान घट्दै गएको भन्दै त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरे ।
उनले राष्ट्रिय गौरवका आयोजनामा विगतमा मनपरी भएको स्वीकार गर्दै नयाँ ढंगबाट अघि बढ्न सुझाव दिए । साथै संस्थानहरुलाई एकीकृत विकास मोडलमा लैजानुपर्ने, एलडीसी ग्राजुएसन प्रक्रियामा नआत्तिनुपर्ने तथा मुलुकलाई ग्रे–लिस्टबाट बाहिर निकाल्न कूटनीतिक पहल आवश्यक रहेको बताए ।
वित्तीय क्षेत्र सुधारका लागि नेपाल राष्ट्र बैंकसँग समन्वय बढाउनुपर्ने र निजी क्षेत्रको मनोबल उकास्न सके मात्रै मुलुकले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने खतिवडाको भनाइ थियो ।












प्रतिक्रिया दिनुहोस्