Skip to content
Prabhu

‘आगामी वर्षको बजेट सकारात्मक छ’

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद अच्युतप्रसाद मैनालीले आर्थिक वर्ष २०८१/८२ को बजेट सकारात्मक भएको भन्दै पूर्ण समर्थन जनाए । आर्थिक वर्ष २०८१/८२ राजस्व र व्ययको वार्षिक अनुमानमाथि आज भएको छलफलमा उनले बजेटको पूर्ण समर्थन गरे।

सांसद मैनालीले भने, ‘बजेटमा प्रस्तुत भएका कार्यक्रमहरु जनता केन्द्रित र न्यूनतम साझा विषयमा केन्द्रित छन् ।’ उनले बजेटमा विस्तृत छलफल हुनुपर्नेमा नभएको भन्दै बजेट कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘१५औं योजनाको अन्त्य हुन गइरहेको छ, त्यसलाई हामीले समीक्षा गर्न सक्यौँ वा सकेनौं ?, अर्थतन्त्रमा संरचनागत चुनौती बढ्दै गएको अवस्थामा यसको सुधारका उपायहरु बजेटमा प्रस्तुत भएनन्’, उनले भने ।

सांसद माधव सापकोटाले बजेटको मुख्य चुनौतीे कार्यन्वयनको पाटो भएको बताए । बजेटलाई कार्यान्वयन गर्न सकेमा यो डेढ दशककै सफल बजेट हुने विश्वास व्यक्त गरे । ‘बजेट परिचालनको क्षमता घट्दै गएको छ, यो निकै चुनौतीको विषय हो । सार्वजनिक खरिद ऐनका विषयमा गम्भीरतापूर्वक बहस गर्नुपर्ने देखिन्छ’, उनले भने।

सांसद निशा डाँगीले समग्रमा अघिल्लो वर्षभन्दा यो वर्षको बजेट सकारात्मक रहेको टिप्पणी गरे । ‘अनुमानित राजस्व र वैदेशिक अनुदानबाट आगामी वर्षको खर्च बेहोर्न सकिने परिप्रेक्ष्यमा जुन आकारको बजेट आएको छ त्यो सन्तुलत नै देखिन्छ । करसम्बन्धी सूचना विश्लेषण गर्न एआइको प्रयोगको घोषणाले राजस्व सङ्कलनको नयाँ अभ्यास थपिदिएको छ । मानव स्वास्थ्यका लागि हानिकारिक रहेको मदिराजन्य, सुर्तीजन्य पदार्थमा लगाइएको शुल्कको वृद्धि सकारात्मक छ’, उनले भने ।

उक्त शुल्क वृद्धिले राज्यको राजस्व वृद्धि गर्नुका साथै राज्य नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको देखाउने सांसद डाँगीको भनाइ छ । उनले भने, ‘बजेटमा राम्रा पक्ष भए पनि आन्तरिक ऋण बढाइएको छ, त्यो चिन्ताजनक विषय हो ।’

सांसद रोशन कार्कीले सरकार परिवर्तनसँगै सरकारको सिद्धान्त र प्राथमिकता परिवर्तन हुन नहुने भन्दै बजेट कार्यानवयन प्रभावकारी रुपमा हुनुपर्नेमा जोड दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal