Skip to content
Prabhu

वर्षैपिच्छे परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गयोः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्वशर्त भएको वताएका छन् । महासंघमा मंगलबार आयोजित राजस्व सम्बद्ध चार महानिर्देशकहरुसँगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक वर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको बताएका छन् ।

भूतपभावी कानुन, करका दरहरुमा हुने परिवर्तन र निजी क्षेत्रप्रतिको धारणाका कारण सरकारको राजस्व पनि अपेक्षित रूपमा उठ्न नसकेको उनको भनाइ थियो । आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकहरुको उपस्थितिमा महासंघमा आयोजि कार्यक्रममा अध्यक्ष ढकालले कृषिजन्य वस्तुको आयातमा लागेका अग्रिम आयकर, फलामे छडको अन्तःशुल्कका विषय आउन थालेको विवाद, नयाँ करका दरहरु लगायतका विषयमा सरकार संवेदनशील हुनपर्ने बताए ।

यसैगरी नेपालमा सयौं वर्षदेखि निरन्तर व्यवसाय चलिरहेको र आधुनिक करसम्बन्धी कानुनहरु पछिमात्रै आएको हुँदा सम्पत्ति अभिलेखीकरणको अवसर सबैलार्ई प्रदान गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण अनुसन्धान विज्ञ हरि नेपालले सम्पत्ति अभिलेखीकरणको मोडालिटिबारे थप छलफल आवश्यक रहेको बताए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगका महानिर्देशक कमल भट्टराईले यो विषय अन्तर्राष्ट्रिय स्तरमा पनि रहेको हुँदा लगानी निरुत्साहित नहुने गरी सुधार गर्दै जानुपर्ने बताए ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बुढाले राजस्व अनुसन्धानले निजी क्षेत्रसँगको सहकार्यमा काम गर्न चाहेको बताए । भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौलाले भन्सार सहजीकरणका लागि थप छलफल गरी सहजीकरण गरिने बताए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले निजी क्षेत्रमैत्री कर प्रशासन बनाउन सरकार प्रयासरत रहेको बताए । बजेटमा भएको व्यवस्था कार्यान्वयनमा जाने बताउँँदै केही कतै समस्या भए सुधार गरिने बताए ।

महासंघका उपाध्यक्ष हेमराज ढकालले वस्तुगत संघहरुले दिएका सुझाव कार्यान्वयनका लागि सरकारसंग आग्रह गरे ।छलफलमा महासंघका सदस्य जिल्ला नगर, वस्तुगत, द्वीराष्ट्रिय र एसोसिएट गरी एक सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो । यस वर्षको बजेटमा गरिएको व्यवस्थाले व्यवसायमा परेको प्रभावबारे उनीहरुले धारणा राखेका थिए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal