Skip to content

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोले, छानबिन समिति तत्काल गठन गर्नुपर्छः सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र साहीले अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय समितिमा करको दर हेरफेर सम्बन्धी विषयमा झुट बोलेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साहीले भन्सार तथा कर छलीसम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याए। उनले सत्ता परिवर्तनसँगै अर्थमन्त्रीले विगतमा उठाइएका सुशासनका मुद्दा बिर्सिएको आरोपसमेत लगाए।

उनले महालेखा परीक्षकको प्रतिवेदनको पृष्ठ नम्बर १५२ उद्धृत गर्दै तातोपानी, कोरला र रसुवा नाकामार्फत विद्युतीय सवारीसाधन (ईभी) आयात गर्दा मोटर क्षमतामा हेरफेर गरी अघिल्लो सरकारले २ अर्ब ५० करोड ८३ लाख १६ हजार रुपैयाँ राजस्व छुट दिएको उल्लेख गरे।

यसैगरी,  देशभर कर तथा महसुल छुटका कारण ३ अर्ब ७७ करोड ४४ लाख १९ हजार रुपैयाँ असुलउपर गर्नुपर्ने विषयमा महालेखाले छानबिन गर्न सुझाव दिएको उनको भनाइ थियो।

सांसद साहीले करको नयाँ दर सार्वजनिक हुनुअघि नै सवारीसाधन नेपाल भित्रिएको र पछि भन्सार जाँचपास गरिएको भन्दै करको सूचना चुहावट भएको आशंका व्यक्त गरे। उनले सरकारलाई कसैलाई दोषी करार गर्न नभई सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न आग्रह गरे।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima