काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी विद्यालयको शुल्कमा लगाइएको ३ प्रतिशत कर अभिभावकमाथि अतिरिक्त आर्थिक भार नपर्ने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजी विद्यालयमा ३ प्रतिशत कर लगाउने व्यवस्था गरेको छ।
बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा जवाफ दिँदै अर्थमन्त्री वाग्लेले अभिभावकलाई आयकरमा दिइएको छुटका कारण विद्यालय शुल्कमा लाग्ने करको प्रभाव न्यून हुने बताए।
उनले काठमाडौं बाहिर मासिक ३–४ हजार रुपैयाँ शुल्क तिर्ने अभिभावकका लागि ३ प्रतिशत करको रकम अत्यन्तै कम हुने उल्लेख गरे। साथै वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिलाई आयकरमा छुट दिइएको र आफ्ना बालबालिकाको शिक्षामा गरेको खर्चमध्ये २५ हजार रुपैयाँ वा २५ प्रतिशतसम्म कर छुट पाउने व्यवस्था गरिएको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले सरकारले सर्वसाधारणलाई तत्काल अतिरिक्त भार नपार्ने गरी शिक्षा क्षेत्रलाई औपचारिक कर प्रणाली (ट्याक्स नेट) भित्र ल्याउने उद्देश्यले उक्त व्यवस्था गरेको स्पष्ट पारे। उनका अनुसार निजी विद्यालयमा अध्ययन गराइरहेका धेरै अभिभावक करको दायराबाहिर रहेकाले कर प्रणालीलाई व्यवस्थित बनाउन यस्तो नीति ल्याइएको हो।
उनले आयकरमा दिइएको छुटले निजी विद्यालयको शुल्कमा लाग्ने करको प्रभावलाई सन्तुलन गर्ने दाबी गरे।












प्रतिक्रिया दिनुहोस्