काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिना अर्थात जेठ मसान्तसम्म प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ४७ अर्ब ६१ करोड ६९ लाख ४६ हजार रुपैयाँ बराबर स्वीकृत भएको छ ।
विभागका अनुसार यो अवधिमा अटोमेटिक रुपमा ७ अर्ब ७१ करोड ६८ लाख ७९ हजार र अप्रुभल रुटबाट ३९ अर्ब ९० करोड रुपैयाँको एफडीआई स्वीकृत भएको छ ।
विभागका अनुसार जेठ महिनामा मात्रै २ अर्ब २९ करोड ५३ लाख ४३ हजार रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको छ । विभागका अनुसार जेठ मसान्तसम्म ९१४ वटा परियोजना स्वीकृत भएको छ । जसमा जेठ महिनामा मात्रै १८६ वटा परियोजना स्वीकृत भएको छ ।
उद्योग विभागका अनुसार जेठ मसान्तसम्म उक्त रकमको ९१४ वटा परियोजनाका लागि उक्त रकमको वैदेशिक लगानी प्रतिबद्धता भएको हो । विभागका अनुसार यो अवधिमा कृषि तथा वन पैदावारमा आधारित उद्योगमा २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ लगानी आएको छ । यो रकम १६ वटा आयोजनाका लागि लगानी प्रतिबद्धता आएको हो ।
यस्तै धेरै लगानी स्वीकृत भएको दोस्रो आयोजनामा पर्यटन क्षेत्र रहेको छ । पर्यटन क्षेत्रमा २०२ आयोजनाका लागि १२ अर्ब ९९ करोड ७४ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता भएको छ ।
यस्तै सेवामूलक क्षेत्रमा ६२ आयोजनाका लागि ४ अर्ब ५९ करोड ९ लाख रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ । विभागका अनुसार उत्पादनमूलक क्षेत्रका ५२ आयोजनामा ३ अर्ब ५७ करोड १० लाख ८७ हजार ५३२ रुपैयाँ, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका ५७७ आयोजनामा २ अर्ब ३६ करोड ५८ लाख ३६ हजार रुपैयाँ, ऊर्जा क्षेत्रमा २ वटा आयोजनाका लागि २३ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।
यस्तै पूर्वाधार क्षेत्रमा १ परियोजनाका लागि १ अर्ब ६५ करोड ४४ लाख २२ हजार ९०० रुपैयाँको लगानी प्रतिबद्धता भएको छ । विभाग अनुसार ९१४ आयोजनामध्ये ८९४ वटा आयोजना साना उद्योग रहेका छन् भने ११ वटा मध्यम र ९ वटा ठूला उद्योग रहेका छन् । यी आयोजना निर्माण हुँदा २५ हजार ४५० नेपालीले रोजगारी पाउनेछन् ।












प्रतिक्रिया दिनुहोस्