Skip to content

रास्वपा प्रतिस्पर्धी अर्थतन्त्रको पक्षमा छ, क्षमता र परिश्रमलाई प्राथमिकता दिएर काम गर्छौँ: अर्थमन्त्री वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले रास्वपा प्रतिस्पर्धी अर्थतन्त्रको पक्षमा रहेको बताए । उनले रास्वपाले पहुँच र शक्ति केन्द्रसँगको निकटताभन्दा क्षमता, उद्यमशीलता र परिश्रमलाई सफलताको आधार बनाउने नीति अवलम्बन गर्ने बताएका हुन् ।

रास्वपाको प्रथम महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै वाग्लेले नेपालमा राजनीतिक तथा आर्थिक क्षेत्रको प्रमुख समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत प्रोत्साहन संरचना रहेको बताए।

‘हामी यस्तो प्रतिस्पर्धी अर्थतन्त्र चाहन्छौँ, जहाँ पहुँच होइन क्षमता सफलताको आधार बनोस्, जहाँ आसेपासे पुँजीवाद वा विकृत समाजवाद होइन, उद्यमशीलता र परिश्रमले समृद्धिको ढोका खोलोस्,’ उनले भने।

वाग्लेले राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने तथा अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नु रास्वपाको प्रमुख राजनीतिक उद्देश्य रहेको बताए।

उनले रास्वपा सरकार परिवर्तनको अभियानमा मात्र सीमित नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको जिकिर गरे। ‘हामी भागबण्डाबाट मेरिटोक्रेसीतर्फ, विवेक र विधिमा आधारित शासनतर्फ तथा नागरिक केन्द्रित लोकतन्त्रतर्फ अघि बढ्न चाहन्छौँ,’ उनले भने।

वाग्लेले रास्वपा आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण हुँदै गएको उल्लेख गर्दै नयाँ पुस्ताले केवल प्रश्न उठाउने मात्र नभई समाधान दिन र शासन सञ्चालन गर्न पनि सक्षम रहेको प्रमाणित गर्नुपर्ने बताए।

उनले रास्वपाले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्य निर्माणको लक्ष्य लिएको स्पष्ट पारे। नागरिक स्वतन्त्रता, कानुनको शासन, उत्तरदायी शासन व्यवस्था, गुणस्तरीय सार्वजनिक सेवा तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने विषय पार्टीको प्राथमिकतामा रहेको उनको भनाइ थियो।

नेपाललाई आत्मनिर्भर, समृद्ध र आत्मविश्वासी राष्ट्रका रूपमा स्थापित गर्न नागरिकको क्षमता, संस्थागत सबलता र नयाँ सोचमा आधारित राजनीतिक संस्कार आवश्यक रहेको उल्लेख गर्दै वाग्लेले महाधिवेशनलाई नेपालको राजनीतिक पुनर्जागरणको सुरुआतका रूपमा व्याख्या गरे।

उनले निराशालाई आशामा, आक्रोशलाई निर्माणमा र विद्रोहलाई रूपान्तरणमा बदल्दै उदार, समृद्ध, समन्यायिक तथा आत्मविश्वासी नेपाल निर्माणको यात्रामा अघि बढ्न सबैलाई आह्वान गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi