काठमाडौं । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सकिएको छ । कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा असार ७ गते प्रस्ताव गरेका थिए ।
छलफलमा कोशी प्रदेशसभाका २४ जना सदस्यहरूले सुझाव, सल्लाह, टिप्पणी र संशयसहित आआफ्ना धारणा राखेका छन् । छलफलमा उठेका प्रश्नको जवाफमा मन्त्री लिंथेपले छलफलमा उठेका रचनात्मक सुझावलाई शिरोधार्य गर्ने भन्दै बजेट न्यायोचित र सन्तुलित छ भने ।
उनले आन्तरिक आय रु पाँच अर्ब ५० करोड उठ्ने लक्ष्य राखेको प्रदेश सरकारले कृषि, सिँचाइ, सडक, पूर्वाधार, निजी क्षेत्र र उदय परियोजनामा गर्ने लगानीबाट प्रदेशको आर्थिक वृद्धि दर पाँच प्रतिशत बढी हुने दाबी गरे । मन्त्री लिंथेपले प्रदेशका १०० वटा विद्यालयमा प्रविधिमैत्री शिक्षा लागू हुने जानकारी दिँदै जङ्गली हात्ती र बाँदरलाई नियन्त्रण गर्न साझा धारणा बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।
बाँदर र हात्तीको विषयमा आवाज उठिरहेकाले सरकारले ठोस नीति बनाइ अघि बढ्नुपर्नेमा उनको जोड थियो । मन्त्री लिंथेपले आर्थिक वर्ष २०८३–८४ सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ विचार गरियोस् भनी प्रस्ताव सदनमा पेस गरे ।
सो प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भयो । समसामयिक विषयमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले गत असार ४ गते विराटनगरस्थित आफ्ना निवासमा प्रहरीद्वारा भएको खानतलासीको विषयमा आफ्ना कुरा राखेका छन् ।
त्यस्तै विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट रेवतीरमण भण्डारीले र शून्य समयमा कोशी प्रदेशसभाका सदस्य सविना बजगाईं, सिर्जना राई र मीना श्रेष्ठले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको अर्को बैठक असार ११ गते दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्