काठमाडौं । नेपालस्थित अमेरिकी वाणिज्य मण्डल (एमच्याम नेपाल)ले क्रस रिभर बैंकसँगको सहकार्यमा ‘नेपाल, विश्वव्यापी पुँजी र वित्तीय नवप्रवर्तनको भविष्य’ शीर्षकमा एक विशेष उच्च(स्तरीय नेतृत्व संवाद आयोजना गरेको छ।
नेपाल–अमेरिका व्यावसायिक करिडोरलाई सुदृढ बनाउने रणनीतिक छलफलका लागि आयोजित यस कार्यक्रममा नेपालको बैंकिङ, वित्त, लगानी, फिन्टेक, बीमा, प्राइभेट इक्विटी तथा समग्र व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यस संवादले उदीयमान लगानी गन्तव्यका रूपमा नेपालको बढ्दो सम्भावनालाई उजागर गर्नुका साथै नवप्रवर्तन, निजी क्षेत्रको नेतृत्व र दीर्घकालीन साझेदारीमार्फत नेपाल र संयुक्त राज्य अमेरिकाबिचको आर्थिक सहयोगलाई फराकिलो बनाउने साझा प्रतिबद्धतालाई जोड दिएको हो।
कार्यक्रममा एमच्याम नेपालका उपाध्यक्ष आकाश गोल्छाले विद्यमान अमेरिकी लगानीकर्ताहरूलाई सहयोग गर्दै र नयाँ अमेरिकी लगानीका लागि मार्गप्रशस्त गर्दै नेपाललाई अवसरको देशका रूपमा स्थापित गर्ने चेम्बरको लक्ष्यलाई जोड दिए।
उनले निरन्तर वकालत, रचनात्मक नीतिगत संवाद र दुई देशबिचको बलियो व्यावसायिक सम्बन्धमार्फत नेपालको लगानीमैत्री वातावरण सुधार गर्न अमचम नेपाल सदैव प्रतिबद्ध रहेको बताए।
क्रस रिभर बैंकका तर्फबाट कार्यकारी उपाध्यक्ष प्रबेश रिजालले यस भ्रमणलाई नेपालसँगको दीर्घकालीन संलग्नताको सुरुवातका रूपमा व्याख्या गरे। यस्तै क्रस रिभर बैंकका इन्भेस्टमेन्ट को–हेड हेनरी पेनेलले नेपालको वित्तीय नेतृत्व र अन्तर्राष्ट्रिय सहकार्यप्रतिको दृष्टिकोणको प्रसंशा गरे। नेपालस्थित अमेरिकी दूतावासकी आर्थिक प्रमुख क्याथरिन लेहजीले पनि अमेरिका–नेपाल व्यावसायिक संलग्नता विस्तारको महत्त्वमाथि जोड दिए।
कार्यक्रमको सहजीकरण एमच्याम नेपालका कार्यकारी निर्देशक अमिर थापाले गरेका थिए। उनले एमच्याम नेपालका बृहत्तर व्यावसायिक कूटनीति पहलहरू, जस्तै: ‘सेलेक्ट यूएसए’ सँगको आबद्धता, नेपाली डायस्पोरा (प्रवासी) सँगको पहुँच र डायस्पोरा लगानी पोर्टलका बारेमा प्रकाश पारेका थिए।
छलफलको अन्त्यमा एमच्याम नेपालले संवादलाई साझेदारीमा लगानीमा र लगानीलाई नेपाल र अमेरिकाको साझा समृद्धिका रूपमा रूपान्तरण गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
प्रतिक्रिया दिनुहोस्