काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब एक अर्ब डलर बराबरको आम्दानी गरेका छन् ।
अमेरिकी सरकारी नैतिकता कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक खुलासाअनुसार ट्रम्पले विशेषगरी वल्र्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आय आर्जन गरेको उल्लेख छ ।
आम्दानीका कारण सन् २०२४ देखि २०२६ बीच उनको व्यक्तिगत सम्पत्ति दुई अर्ब ३० करोड डलरबाट बढेर छ अर्ब ५० करोड डलर पुगेको फोर्ब्सले जनाएको छ ।
खुलासाअनुसार ट्रम्पले स्टार्टअप कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलसँगको सम्बन्धबाट करिब पाँच करोड ५० लाख डलर प्राप्त गरे । जनवरी २०२५ मा राष्ट्रपतिको शपथअघि सार्वजनिक गरिएको ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित इजाजतपत्र सम्झौताबाट थप ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त गरेको उल्लेख छ । उक्त कम्पनी सेप्टेम्बर २०२४ मा ट्रम्पका छोराहरू र मध्यपूर्वका विशेष दूत स्टिभ विटकफका छोराले संयुक्त रूपमा स्थापना गरेका थिए ।
वर्ल्ड लिबर्टी फाइनान्सियलले आफ्नै डब्लुएलएफआई टोकन बिक्रीबाट ५५ करोड डलर उठाएको थियो । सेप्टेम्बर २०२५ देखि कारोबारयोग्य बनेको यो टोकनको मूल्य ४६ सेन्टबाट घटेर हाल करिब ६ सेन्टमा झरेको छ । ट्रम्प र उनका तीन छोराले डीटी मार्क्स डेफीमार्फत थप २२ अर्ब ५० करोर्ड डब्लुएलएफआई टोकन प्राप्त गरेका छन् । यसको हालको अनुमानित मूल्य एक अर्ब ३० करोड डलर रहेको जनाइएको छ । कम्पनीले अप्रिल २०२५ मा अमेरिकी डलरसँग आबद्ध स्टेबलकोइन पनि सार्वजनिक गरेको थियो ।
क्रिप्टोकरेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै आफूले लगानी गरेको क्षेत्रलाई नियमनमुक्त बनाउन प्रयास गरेको भन्दै स्वार्थको द्वन्द्वको आरोप लाग्दै आएको छ । तर ह्वाइट हाउसले ती आरोप अस्वीकार गर्दै राष्ट्रपति वा उनको परिवार कुनै पनि स्वार्थको द्वन्द्वमा संलग्न नरहेको जनाएको छ । ह्वाइट हाउसकी प्रमुख उपप्रेस सचिव अन्ना केलीले ट्रम्पले अमेरिकालाई विश्वको ‘क्रिप्टो राजधानी’ बनाएको दाबी गर्दै प्रशासनका सबै निर्णय अमेरिकी जनताको हितमा केन्द्रित रहेको बताए ।
सन् १९७८ को कानूनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो सम्पत्ति तथा आम्दानी सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यसपटकको खुलासामा प्रथम महिला मेलानिया ट्रम्पले अमेजनका लागि निर्माण गरिएको वृत्तचित्रबाट एक करोड डलरभन्दा बढी र आफ्नो पुस्तक ‘मेलानिया’ बाट पाँच लाख डलरभन्दा बढी आम्दानी गरेको उल्लेख छ । ट्रम्पले कोइनबेसजस्ता क्रिप्टो कम्पनीका सेयर, ट्रम्प ब्रान्डका विभिन्न सामग्री तथा गायक ली ग्रीनवुडसँगको सहकार्यमा बिक्री गरिएको बाइबलबाट पनि उल्लेखनीय आम्दानी गरेको विवरणमा जनाइएको छ ।
ट्रम्पको सम्पत्ति हाल उनका छोरा डोनाल्ड ट्रम्प जुनियरद्वारा सञ्चालित ट्रस्टमा राखिएको छ । यद्यपि ट्रस्टको व्यवस्था अनुसार कुनै पनि बेला त्यसको विघटन सम्भव भएकाले सन् २०२९ मा दोस्रो कार्यकाल समाप्त भएपछि ट्रम्पले सम्पत्तिमाथिको प्रत्यक्ष नियन्त्रण पुन: प्राप्त गर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ ।
यही आर्थिक खुलासामा उपराष्ट्रपति जेडी भान्सले पनि सन् २०१६ मा प्रकाशित आफ्नो संस्मरण ‘हिलबिली एलेगी’ बाट १० लाखदेखि ५० लाख डलरसम्म रोयल्टी प्राप्त भएको विवरण सार्वजनिक गरे ।
प्रतिक्रिया दिनुहोस्