Skip to content

साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो, खुद्रा पसलमा दैनिक २० देखि २५ हजारको व्यापार

फाइल फोटो
काठमाडौं । साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउनेक्रम बढेसँगै बजारमा चुरापोते र मेहन्दीको व्यापार बढेको हो ।
हिन्दुहरूले साउन महिनालाई भगवान् शिवको महिनाका रूपमा लिने गरेका छन् । हिन्दु महिला तथा पुरुषले साउन महिनाभर भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । साउनमा महिला हातमा मेहेन्दीसँगै हरियो चुरा र तथा पहेँलो पोते लगाउने गर्छन् । यस्तै, पुरुषहरूले पहेँलो वस्त्र लगाउने गर्छन् ।
काठमाडौँको इन्द्रचोकमा चुरापोतेको व्यापार गर्दै आउनुभएका अहमद मुसलमान पछिल्लो समय आफ्नो पसलमा चुरापोतेको व्यापार बढेको बताए । “अरु समयमा दैनिक आठ÷१० हजारको व्यापार हुन्थ्यो, पछिल्लो दुई चार दिनमा दैनिक २० देखि २५ हजारको व्यापार हुने गरेको छ”, उनी भन्छन् ।
सोही क्षेत्रका अर्को व्यवसायी हसन अन्सारी चुरापोते किन्नका लागि आफ्नो पसलमा पनि मानिसको भीड लाग्ने गरेको बताए । “बिहेको याममा हाम्रो पसलमा ग्राहक बढी मात्रामा आउनुहुन्थ्यो, साउन सुरु हुनलाग्दा ग्राहक अन्य समयकोभन्दा बढी आउनुभएको छ”, अन्सारी भन्छन् ।
साउन सुरु हुनु अगाडि काठमाडौँको मुख्य बजार असन, इन्द्रचोक, बागबजारलगायत क्षेत्रमा ग्राहकको चहलपहल बढेको छ । विशेषगरी विवाहित महिलाले साउन महिनामा हरियो चुरा र पोते लगाउने धार्मिक तथा सांस्कृतिक परम्पराका कारण बजारमा यसको व्यापार बढेको हो । यस्तै, ब्युटीपार्लरदेखि सडकसम्म पनि मेहन्दी लगाउने महिलाको भीड देखिन्छ ।
राजधानीका विभिन्न बजारमा हरियो चुरा र पोतेका नयाँ डिजाइन तथा विभिन्न मूल्यका सामग्री बिक्रीवितरणमा राखिएका छन् । ग्राहकको रोजाइलाई ध्यानमा राखेर स्वदेशी तथा आयातित दुवै प्रकारका चुरा र पोते बिक्रीका लागि राखिएको छ ।
हरियो चुरा र पोते खरिदका लागि गोङ्गबुबाट इन्द्रचोक आएकी सरस्वती दवाडी साउन महिनामा हरियो चुरा र पोते लगाउँदा सांस्कृतिक परम्पराको संरक्षण हुने बताईन।
यस्तै, साउन महिनामा परिवार र साथीभाइसँग मिलेर मेहन्दी लगाउने, हरियो पहिरन लगाउने तथा धार्मिक गतिविधिमा सहभागी हुने गरेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका निवर्तमान कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरियो चुरा, पोते र हातमा मेहेन्दी लगाएको किंवदन्तीका आधारमा महिला व्रत बस्दा हरियो चुरा र पहेँलो पोते लगाउने गरेको बताए।
“साउन महिना हरियोसँग सम्बन्धित महिनासमेत हो, यो महिनामा वर्षा बढी हुने, बोटबिरुवामा पालुवा चढ्ने, प्रकृति सुहाउँदो संस्कृतिका लागि पनि महिलाले हरियो चुरा र पोते लगाउने गरेका छन्”, उनले भने । तीज नजिकिँदै जाँदा चुरापोतेको महत्त्व झन् बढ्दै गएको उनको भनाइ थियो ।
चुरापोते लगाउने संस्कृति भारतबाट आयातित संस्कृति भएको आचार्य पन्थीले बताए । भारतमा बढीमात्रामा हरियो चुरा र पहेँलो पोते लगाउने गरेको उनको भनाइ छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima