Skip to content

भगवानपुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण अलपत्र

nabil
global ime

सिरहा । सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधा सहितको प्रशासकीय भवनको निर्माणको काम अलपत्र परेको छ ।

निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले विसं २०८० असारमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन निर्माणको काम अलपत्र परेको हो । वडा नं १ स्थित ११ करोड ५८ लाख आठ सय १२ रुपैयाँ भ्याटसहितको लागतमा विसं २०७८ असार २० गते भएको सम्झौतामा ३६ महिनाभित्र काम सम्पन्न गर्ने गरी रौता अनसुमन जेभी काठमाडौँले ठेक्का पाएको थियो ।

भवन निर्माण गर्न दुई महिना मात्र समय बाँकी रहे पनि ठेकेदार निर्माणको काम अगाडि नबढाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रनारायण चौधरीले बताए ।

सो भवन ‘अण्डर ग्राउन्ड’ सहित पाँचतले निर्माण हुने पूर्ण अपाङ्गतामैत्री, पर्याप्त शौचालय सुविधाको एकीकृतरुपमा सेवा दिने आधुनिक प्रशासकीय भवन हुने गाउँपालिकाले जनाएको छ । भवनमा सेवाग्राहीका लागि डिपिआरमा लिफ्टको उल्लेख रहे पनि सोका लागि रकम गाउँपालिकाले छुट्याएको छैन ।

भवन निर्माणको काम अलपत्र छाडेको ठेकेदार कम्पनीले पेश्की रकमसहित ३ करोड ५ लाख २० हजार बुझेको गाउँपालिकाका इञ्जिनियर प्रविन भक्तले जानकारी दिए । भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि निर्माणको काम अगाडि बढाउन कुनै चासो नदेखाएको उनले बताए।

उनका अनुसार प्रशासनिक भवनको ३५ प्रतिशत भौतिक प्रगति रहेको छ । गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले ठेकदारलाई काम अगाडि बढाउन बाँकी रकम भुक्तानी गर्ने बताए।

गाउँपालिकाको आफ्नै भवन नभए पनि साविक भगवानपुर गाविस भवनबाट गाउँपालिकाको काम सञ्चालन गरिँदै आएको छ । केही शाखा र वडा भवन अभावमा निजी घरमा भाडामा लिएर सञ्चालन भइरहेको र वार्षिक २६ लाख रुपैयाँ घर भाडामा रकम खर्च भइरहेको गाउँपालिकाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima