Skip to content

अडानीविरुद्ध लागेको घुसखोरी तथा ठगीसम्बन्धी अमेरिकी मुद्दा खारेज

काठमाडौं । अमेरिकी न्यायाधीशले भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध लागेको घुसखोरी तथा ठगीसम्बन्धी मुद्दा सोमबार औपचारिक रूपमा खारेज गरेको छ । ट्रम्प प्रशासनले अडानीविरुद्धको अभियोजन अघि नबढाउने निर्णय गरेपछि ब्रुकलिनका सङ्घीय न्यायाधीश निकोलस गाराउफिसले अभियोजकहरूको अनुरोध स्वीकृत गरेको छ।

अदालती अभिलेखअनुसार अभियोजकहरूले गत मेमा सन् २०२४ मा अडानीले भारतीय अधिकारीलाई आकर्षक सौर्य ऊर्जा आपूर्ति सम्झौता प्राप्त गर्न २६ करोड ५० लाख अमेरिकी डलर घुस दिने योजनामा संलग्न भएको आरोप खारेज गर्न अनुरोध गरेका थिए । न्यायाधीश गाराउफिसले सोही अनुरोधलाई औपचारिक रूपमा स्वीकृति दिएका हुन ।

अमेरिकी न्याय मन्त्रालयले मुद्दा खारेज गर्ने निर्णय गरे पनि त्यसको प्रक्रियाप्रति न्यायाधीश गाराउफिसले असन्तुष्टि जनाए । उनले ट्रम्प प्रशासनका डेपुटी एसोसिएट अटर्नी जनरल ट्रेन्ट म्याककोटरले मुद्दा खारेज गर्ने निर्णयमा सम्बन्धित अनुसन्धानकर्ता र अभियोजकबाट पर्याप्त सुझाव नलिएको विषयलाई असामान्य बताए।

न्यायाधीश गाराउफिसले अदालतको आदेशमा म्याककोटरले प्रतिरक्षा पक्षका वकिलसँगको सहकार्यमा निर्णयमा पुगेको देखिनु तथा कथित अपराधको अनुसन्धान गर्ने एफबीआई र अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसइसी) का अधिकारी एवं मुद्दा अघि बढाउने अभियोजकबाट आवश्यक जानकारी नलिनु अत्यन्त असामान्य देखिएको उल्लेख गरेको छ।

यसअघि अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलसमेत रहनुभएका अडानीका वकिल रोबर्ट गिफ्राले अप्रिलमा न्याय मन्त्रालयका अधिकारीसँग आरोप हटाइएमा अडानीले अमेरिकी अर्थतन्त्रमा १० अर्ब अमेरिकी डलर लगानी गर्न इच्छुक रहेको बताए ।

उनले चुनौतीपूर्ण अवधिमा आफूहरूको सत्य, निष्पक्षता र विधिको शासनप्रतिको विश्वास अटल रहेको पनि उल्लेख गरेका छन् । अडानी समूह भारतको सबैभन्दा ठूलो व्यापारिक समूहहरूमध्ये एक हो । समूहले बन्दरगाह, विद्युत् आयोजना, सिमेन्ट कारखाना, ऊर्जा तथा सञ्चारमाध्यमलगायत विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।

भारतका धनी उद्योगपतिमध्ये एक अडानी पछिल्ला वर्षमा कर्पोरेट ठगीसम्बन्धी आरोप र कम्पनीका सेयर मूल्यमा आएको ठूलो गिरावटका कारण विवादमा रहेका छन्। उन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगीका रूपमा समेत चिनिनुहुन्छ र प्रधानमन्त्री मोदीकै गृह राज्य गुजरातका छन् ।

अडानी सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पका मुखर समर्थकसमेत रहँदै आएका छन् । अमेरिकी अदालतको पछिल्लो निर्णयसँगै उनीविरुद्ध अमेरिकामा चलिरहेको उक्त आपराधिक अभियोजन औपचारिक रूपमा अन्त्य भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T