Skip to content

हिमालयन लाइफको सीईओका लागि आवेदन खुल्यो, कसले दिन पाउँछ ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान गरेको छ। कम्पनीले बुधबार सूचना प्रकाशित गर्दै आवेदन मागेको हो।

कम्पनीका अनुसार सीईओले कम्पनीको समग्र रणनीतिक तथा कार्यकारी नेतृत्व प्रदान गर्दै व्यवसाय वृद्धि, प्रिमियम आम्दानी, नाफा र बजार हिस्सा बढाउने जिम्मेवारी सम्हाल्नुपर्नेछ। साथै बिक्री तथा वितरण सञ्जाल, विशेषगरी अभिकर्ता सञ्जाललाई प्रभावकारी बनाउने, जीवन बीमा सञ्चालन, दाबी व्यवस्थापन, उत्पादन विकास, ग्राहक सेवा तथा जोखिम व्यवस्थापनलाई सुदृढ गर्ने जिम्मेवारीसमेत सीईओको हुनेछ।

सीईओ पदका लागि उम्मेदवारले व्यवस्थापन, व्यवसाय प्रशासन, वित्त, अर्थशास्त्र, लेखा, बीमा वा सम्बन्धित विषयमा स्नातकोत्तर वा सोसरहको योग्यता हासिल गरेको हुनुपर्नेछ। चार्टर्ड एकाउन्टेन्ट (सीए) पनि आवेदनका लागि योग्य हुनेछन्।

त्यस्तै, जीवन बीमा क्षेत्रमा पर्याप्त अनुभवसँगै जीवन बीमा कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कम्तीमा पाँच वर्षको अनुभव अनिवार्य गरिएको छ।

उम्मेदवारमा जीवन बीमा बिक्री, वितरण तथा अभिकर्ता व्यवस्थापन, अन्डरराइटिङ, दाबी, पुनर्बीमा, लगानी, जोखिम तथा वित्तीय व्यवस्थापनबारे राम्रो ज्ञान हुनुपर्नेछ। नेपालको जीवन बीमा बजार तथा नियामकीय व्यवस्थाबारे समेत पर्याप्त जानकारी आवश्यक पर्ने कम्पनीले जनाएको छ।

इच्छुक उम्मेदवारले भदौ १० गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन सञ्चालक समितिको नाममा तयार गरी इमेलमार्फत पठाउनुपर्नेछ।

आवेदनसँग कभर लेटर, अद्यावधिक सीभी, शैक्षिक तथा व्यावसायिक योग्यताका प्रमाणपत्र, अनुभवसम्बन्धी कागजात र हिमालयन लाइफको आगामी रणनीति, व्यवसाय वृद्धि, बिक्री तथा वितरण, अभिकर्ता विकास, सञ्चालन सुधार, नाफा तथा सुशासनसम्बन्धी विस्तृत बिजनेस प्लान पेश गर्नुपर्नेछ।

कम्पनीले प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र थप मूल्यांकन तथा अन्तर्वार्ताका लागि सम्पर्क गर्ने जनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T