काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानले समयमै मदखाद पाउन नसकेका, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको, मौलिक हकका रुपमा रहेको स्वास्थ्य सेवाबाट नागरिक वञ्चित हुनुपरेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विभिन्न मुलुकबाट राजदूत फिर्ता बोलाइएको विषयमा समेत प्रश्न उठाएका छन् ।
सांसद मनबहादुर गुरुङले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारणबारे जिज्ञासा राखे । अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न उनले सरकारसँग माग गरे । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८१ को नीति तथा कार्यक्रम र बजेटमा यसलाई समेटन नसकेको भन्दै सांसद गुरुङले असन्तुष्टि व्यक्त गरे ।
सांसद मनिषकुमार झाले बेलायत सरकारको सहयोगमा जनकपुर–जयनगर रेल्वेका लागि वैदेही र खजुरामा स्थापना गरिएको कारखानामा इञ्जिन थन्क्याइएको उल्लेख गर्दै विभिन्न देशमा बनाइएका ती इञ्जिन संरक्षण गरेर सङ्ग्रहालयमा राख्नुपर्ने सुझाव दिए।
सांसद महेशकुमार बर्तौलाले संविधानले व्यवस्था गरेको मौलिक अधिकारमा स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित नगरिने व्यवस्था भए पनि सङ्घीय अस्पतालमा समेत सामान्य उपचार र शल्यक्रियाका लागि नौ महिनासम्म कुनुपर्ने अवस्थाका विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद महेश बस्नेतले इलामको माइ नगरपालिका–४ मा द्वन्द्वव्यवस्थापन गर्न निर्माण गरिएका शिविरको जग्गा संरचना प्रयोगविहीन अवस्थामा रहेकाले त्यसको उचित उपयोग गर्न आग्रह गरे ।
सांसद माधव सापकोटाले मनसुनको समय आएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद मुक्ताकुमारी यादवले सिरहा–धनुषा जोड्ने कमला नदीको पुल र राजमार्ग निर्माण समयमै सम्पन्न गर्न माग गरे । सांसद् मेटमणि चौधरीले दाङको राप्ती गाउँपालिका–१ भालुवाङ बजारका बासिन्दा विस्थापित हुनुपरेको उल्लेख गर्दै लालपुर्जा भएका स्थानीयवासीलाई जग्गा फिर्ता गर्न माग गरे ।
सांसद मेनकाकुमारी पोखरेलले दाङमा आपराधिक घटना न्यूनीकरण गर्न सुरक्षा निकायको ध्यानार्कषण गराए । सांसद मैना कार्कीले मध्यपहाडी राजमार्ग निर्माणमा ध्यान दिन सरकारसँग आग्रह गरे । सांसद रघुजी पन्तले दोहोरो नागरिकता भएका कर्मचारीबारे छानबिन गर्न र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार कारबाही गर्न माग गरे ।
सांसद रणेन्द्र बराइलीले देशभर भएका जातीय विभेदका घटनाप्रति सरकारको ध्यानाकर्षण गराए। सांसद रञ्जुकुमारी झाले शून्य समयमा सांसदहरुले सदनमा राखेका विषयको सरकारले सुनुवाइ नगरेकामा असन्तुष्टि व्यक्त गरे।
सांसद राजेन्द्रकुमार केसी र रामकृष्ण यादवले सरकाले विभिन्न देशमा रहेका ११ नेपाली राजदूतलाई एकैपटक फिर्ता बोलाएकाप्रति आपति जनाए भने अर्का सांसद रामकुमार राईले खोटाङको सडकखण्ड निर्माण एवं विस्तारको काम समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए।
सांसद रामनाथ अधिकारीले जनप्रतिनिधिले आफ्नो दलीय र क्षेत्रीय स्वार्थबाट माथि उठेर सिङ्गो देशकै लागि सोच्न सक्नुपर्ने बताए । त्यस्तै, सांसद रामशङ्कर यादवले तराईमा खानेपानीको समस्या हल गर्न र किसानलाई बीउ र मलखाद समयमै उपलब्ध गराउन माग गरे।
सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरे । सांसद रुपासोशी चौधरीले किसानलाई आवश्यक मल उपलब्ध गराउन माग गरे । सांसद रोशन कार्कीले मन्त्रीहरुले बजेट आफनो जिल्लामा मात्र पारेकामा आपत्ती जनाए।
सांसद लक्ष्मी तिवारीले नेपालगञ्जस्थित विमानस्थलको सुधारको माग गरिन्। सांसद लालप्रसाद सावा लिम्बूले झापाको कन्काई नदीमा हुलाकी राजमार्गमा पुल निर्माण थालेको १३ वर्षमा पनि सम्पन्न नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद लालवीर चौधरीले साल्ट टे«डिङ र कृषि सामग्री संस्थानमार्फत किसानलाई मल वितरण गरिनुपर्ने माग गरे भने सांसद लेखनाथ दाहालले दीर्घरोगको चुनौतीप्रति सरकारलाई सचेत गराए।
प्रतिक्रिया दिनुहोस्