Skip to content

बूढापाकाको गुनासोः ‘सडकले पहिले हामी हिँड्ने गोरेटो मेटिए’

nabil bank

बागलुङ । एक दशकअगाडिसम्म बागलुङका अधिकांश ठाउँमा मोटरबाटो पुगेको थिएन । जब स्थानीय तह स्थापना भयो त्यस यता सडक नपुगेको गाउँ–बस्ती छैन । गाउँमा सडक नपुग्दा गाउँलेको यात्रा गोरेटो बाटोमै हुन्थ्यो ।

पछिल्लो समय गोरेटो बाटो प्रयोग हुन छाडेपछि झाडीले ढाकिएका छन् । यात्रा सहजताका लागि स्थानीयले जनश्रमदान गरी गोरेटो निर्माण गर्थे । अहिले त्यो चलन हराएको छ। ग्रामीण सडकले मान्छेलाई अल्छी बनाउनका साथै पुराना गोरेटो प्रयोगविहीन भएको तमानखोला गाउँपालिका–३ का मनबहादुर बुढाथोकीले बताए।

मोटरबाटोले टाढा–टाढा यात्रा गर्न र बजारबाट सामान ढुवानीका लागि धेरै सहज भएको भन्दै गोरेटो बाटो मासिएपछि गाउँको पहिचान नै मेटिने खतरा बढेको उनले बताए। पहिले सामान ढुवानी गर्न घोडा खच्चड प्रयोग गर्ने गरेको र अहिले गाडीमा ओसारपसार गर्न थालेको बुढाथोकी बताए। मोटरबाटोले गोरेटो बाटोसँगै कुवा, पोखरी, पानीको मुहान र चौपारी सबै विनाश गरेको गुनासो उनले गरे । गाउँमा जथाभावी सडक निर्माण गर्नु आवश्यक नभएको उनको भनाइ छ ।

‘पहिले घण्टौं हिंडेपछि गाडी चल्ने ठाउँमा पुगिन्थ्यो र पनि हामीहरु खुसी थियौं, अहिले घरै अगाडि गाडी गुड्न थाले पनि खुसी छैनौं, हरेक व्यक्तिलाई घर–घरमा सडक चाहिएको छ, त्यसले गर्दा हाम्रा मौलिक सम्पदा मासिए, गोरेटो बाटो गाउँले जीवनसँग जोडिएको मौलिकता हो’, बुढाथोकीले भने, ‘अव्यवस्थित विकासले गाउँको अस्तित्व नै सङ्कटमा परेको छ, गाउँमा एउटा सडक भए पुग्छ, अहिले जताततै मोटर बाटो मात्रै निर्माण भएका छन्, गोरेटो बाटो झाडीले ढाकिएका छन् ।’

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन पुग्न दशकअगाडि गोरेटो बाटोको विकल्प थिएन । अहिले सडकले गर्दा दर्जनौं गोरेटो झाडीमा परिणत भएको स्थानीय तुलबहादुर सुनारले बताए । उतिबेला स्थानीय लेक बेंसी गर्दा र हजारौंको सङ्ख्यामा वस्तुभाउ ओहोरदोहोर गराउन प्रयोग गरिने बाटो अहिले सडकले पुरिएको उनको भनाइ छ । आफूहरु ११ दिन लगाएर बुटवल पुगेर नुन, चामल
बोकेर उपभोग गरेको स्मरण गर्दै अहिलेका पुस्ता आधा घण्टाको दूरीमा पनि गाडी नै चढ्न चाहने सुनार बताए।

उनले भने, ‘अहिले जमाना फेरिए, हाम्रो पालाको जस्तो छैन, घर दैलोमै धेरै सुविधा आयो, टोलपिच्छे मोटर बाटो पुगे, त्यही भएर मान्छे एकै छिन पनि हिँड्न मान्दैनन्, पहिला हामी लेकबेंसी गर्ने बाटो अहिले कहाँ छन्, भेटिँदैनन्, कहीँ रूख बिरुवा उम्रिएका छन्, कतै काँडाले ढाकिएका छन्, कतै मोटेरबाटोले पुरेको छ, गोरेटोबाटो जोगाउनुपर्छ भन्नेमा कसैको ध्यान गएन, पहिला हामी हिँडेका ती बाटा कस्ता थिए, अहिले कस्ता भए ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime