Skip to content
Prabhu

हस्, भइहाल्छ भन्ने होइन,परिणाम देखिने गरी काम गर्नुस्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिणाम देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा बुधबार आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्यांकन प्रणालीको विकास गरी कार्यान्यवन गर्न समेत निर्देशन दिएका छन् । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई मध्यनजर गरी इमान्दारिता र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा जुट्न सबैमा आव्हान गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस कार्यालयलाई शासकीय मामिलाको वास्तविक केन्द्र बनाउने हो, ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक छ ।’

प्रधानमन्त्रीले चालु आर्थिक वर्षका बाँकी कार्यक्रम र क्रियाकलापहरूको कार्यान्वयनमा विशेष ध्यान दिई शतप्रतिशत नतिजा प्राप्तिमा जोड दिन र आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा आवश्यक पूर्वतयारीका कामहरू समयमै सम्पादन गर्न निर्देशन दिए । तोकिएको समयमा निर्धारित लक्ष्य अनुरूपको नतिजा हासिल गर्न कर्मचारी वर्गको क्रियाशीलता आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यरत तहअनुसार कर्मचारीरूको क्षमता विकास गर्नुका साथै उत्प्रेरणा तथा मनोबल बढाउँदै लगिने बताए ।

प्रधानमन्त्रीले प्रभावकारी अनुगमन तथा मूल्यांकन प्रणालीको विकास गरी काम गर्नुपर्नेमा जोड दिँदै योजना तथा कार्यक्रमहरू समयमा कार्यान्वयन गर्न र प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गरी समयमा सूचना प्राप्ति, सूचनाको गहन विश्लेषण र समस्या समाधानका लागि आवश्यक सकारात्मक हस्तक्षेप गर्नुपर्ने जरुरी रहेको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal