Skip to content

बाढी प्रभावित क्षेत्रमा ६४४ पर्यटक तथा यात्रु सम्पर्कविहीन

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ र गोरखामा बुधबार बिहान करिब ८ः३० बजे भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा रहेका ६४४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायले प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्था पहिचान र उद्धारका लागि काम गरिरहेका छन्।

पर्यटन तथा ट्रेकिङ कम्पनीबाट प्राप्त प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा १२७ जना नेपाली र ५१७ जना विदेशी नागरिक छन्। सम्बन्धित ट्राभल तथा ट्रेकिङ कम्पनी, गाइड, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा अन्य सरोकारवालासँग समन्वय गरी विवरण प्रमाणीकरण तथा क्रस–चेक गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।

विवरणअनुसार भारतका १७८, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५, जर्मनी र रुसका ८र८ तथा लाटभियाका ६ जना सम्पर्कविहीन छन्। जापान र न्युजिल्यान्डका ५र५ तथा फ्रान्सका ४ जना पनि सूचीमा छन्।

मन्त्रालयका अनुसार भोटेकोसी र त्रिशूली नदी आसपासका चार जिल्लाका नदी किनार क्षेत्रमा ठूलो क्षति पुगेको भए पनि अन्य क्षेत्र प्रभावित नभएको जनाएको छ।

आपत्कालीन सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। प्रभावित व्यक्ति तथा आफन्तलाई नजिकको प्रहरी वा सुरक्षा निकाय, स्थानीय प्रशासन, ट्राभल एजेन्सी, गाइड वा टुर अपरेटरसँग सम्पर्कमा रहन आग्रह गरिएको छ।

सरकारले सबैलाई शान्त रहन, आधिकारिक सूचना मात्र पछ्याउन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। पर्यटकको सुरक्षा पहिलो प्राथमिकतामा रहेको मन्त्रालयले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T