चितवन । बाढीले बगाएर ल्याएको एक मृतकको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बाढीले बगाएर ल्याएको शवको औँलाबाट सुनको मुन्द्रा तान्ने प्रयास गरिएको देखिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मानवीय संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाउने उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै नागरिकहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।






प्रतिक्रिया दिनुहोस्