Skip to content

भोटेकोशी बाढीबीच विद्युत् सेवा नियमित राख्न प्राधिकरण सफल, १० प्रतिशत उत्पादन प्रणालीबाट बाहिरियो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणले विद्युत् सेवा नियमित राख्न सफलता हासिल गरेको बताएका छन् ।

बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) पुगेर विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिने क्रममा मन्त्री श्रेष्ठले केही कर्मचारी सम्पर्कविहीन रहेको अवस्थामासमेत प्राधिकरणका कर्मचारी र प्राविधिक टोलीले निरन्तर काम गरेर विद्युत् सेवा सञ्चालनमा राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमतामध्ये करिब १० प्रतिशत उत्पादन प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले आपूर्ति व्यवस्थापनलाई सन्तुलित राख्न सफल भएको बताए ।

अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफलता मिलेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

मन्त्री श्रेष्ठका अनुसार बाढीबाट प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन भइसकेको छ भने रसुवामा पनि विद्युत् सेवा पुनःस्थापनाका लागि तीव्र रूपमा काम भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार साँझ विद्युत्को उच्चतम माग दुई हजार ९३९ मेगावाट रहेकोमा बिहीबार साँझ यो घटेर दुई हजार ८९१ मेगावाटमा सीमित भएको छ । काठमाडौँ उपत्यकाको विद्युत् माग पनि बुधबारको ५९० मेगावाटबाट घटेर बिहीबार ५७८ मेगावाटमा झरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका तथ्यांकअनुसार बुधबार ६२ मेगावाट विद्युत् आयात गरिएको थियो भने बिहीबार आयात घटेर दुई मेगावाटमा सीमित भएको छ ।

मन्त्री श्रेष्ठले उद्धार, विद्युत् आपूर्ति व्यवस्थापन तथा सेवा पुनःस्थापनामा खटिएका प्राधिकरणका उच्च व्यवस्थापन, कर्मचारी र प्राविधिक टोलीलाई धन्यवाद दिएका छन् ।

प्राधिकरणले वैकल्पिक स्रोतमार्फत नुवाकोटमा करिब सात मेगावाट विद्युत् आपूर्ति गरिरहेको जनाएको छ । चपलीबाट दुई मेगावाट, इन्द्रावतीबाट एक मेगावाट, तादी जलविद्युत् केन्द्रबाट दुई मेगावाट तथा बालाजु–त्रिशूली प्रणालीमार्फत थप दुई मेगावाट विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T