Skip to content

भोटेकोशी बाढीबाट ज्यान जोगाएका कर्मचारीको पीडा : ‘साइरन बजेपछि २–३ मिनेटमै विपत्ति आइपुग्यो’

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट ज्यान जोगाएका माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत सामाजिक अधिकृत अर्जुन न्यौपानेले त्यस दिनको कहालीलाग्दो अनुभव सार्वजनिक गरेका छन्। उनले बाढीको गति र विनाश यति भयावह रहेको बताए कि त्यहाँ रहेका अधिकांशले बाँच्ने आशा नै त्यागिसकेका थिए।

विगत पाँच वर्षदेखि आयोजनामा कार्यरत न्यौपानेका अनुसार बाढी आउन सक्ने चेतावनीस्वरूप साइरन बजेको करिब चार मिनेटपछि मात्रै ठूलो विपत्ति आइपुगेको थियो। गाडी तथा मोटरसाइकल सुरक्षित स्थानमा लैजाने तयारी भइरहेका बेला अचानक माथिबाट ठूलो मुस्लो झरेको उनले बताए।

‘करिब पाँच सेकेन्ड तल झर्दै गर्दा ठूलो आवाज सुनियो। फर्केर हेर्दा माथिबाट विशाल मुस्लो आउँदै गरेको देखेँ। त्यो दृश्य देखेपछि ज्यान जोगाउन उकालो लाग्यौँ,’ उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अनुभवमा उल्लेख गरेका छन्।

उनका अनुसार पहिलो ठूलो छाल उनीहरू रहेको क्षेत्रतर्फ नआई मैलुङतर्फ मोडिएपछि धेरैको ज्यान जोगिएको थियो। त्यसपछि आएको अर्को छाल भने वारिपट्टिको भित्तासम्म आइपुगेको थियो। केही साथीहरू छालको चपेटामा परे पनि अधिकांशले सुरक्षित स्थानमा पुग्न सफल भएको उनले बताएका छन्।

बाढीपछि क्याम्पभित्र रहेका सहकर्मीहरूको अवस्थाबारे चिन्ता बढेको उनले उल्लेख गरेका छन्। साइरन बजेदेखि सुरक्षित स्थानमा पुग्न अधिकतम २–३ मिनेटको मात्रै समय रहेकाले धेरै कर्मचारी क्याम्पभित्रै फसेको आशंका गरिएको थियो।

न्यौपानेले सुरक्षित स्थानमा पुगेपछि फेसबुकमार्फत ‘खाल्डे, बेत्रावती, बट्टार, त्रिशूलीमा सक्नुहुन्छ भने बचाइदिनुस्’ भन्दै अपिलसमेत गरेका थिए। बाढीको दृश्य देख्दा तल्लो तटीय क्षेत्रसम्म ठूलो जोखिम हुनसक्ने अनुमानका आधारमा उक्त सन्देश लेखेको उनले बताएका छन्।

भिर र जङ्गलको बाटो हुँदै साँझ ग्राङ पुगेका उनले त्यसपछि बेपत्ता तथा फसेका कर्मचारीहरूको अवस्थाबारे आफन्तजनलाई जानकारी गराउने काममा सक्रिय भूमिका निर्वाह गरेको बताए। बाढीपछिका दिनहरूमा उनले सुरक्षा निकाय, स्थानीय प्रशासन र कम्पनी व्यवस्थापनसँग समन्वय गरी खोज, उद्धार तथा राहत कार्यमा सहयोग गरेका थिए।

न्यौपानेका अनुसार आफू कार्यरत कम्पनीमा कार्यरत करिब ८० कर्मचारीमध्ये ४४ जना अझै सम्पर्कविहीन रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ। यसबारे थप आधिकारिक विवरण सार्वजनिक गरिने उनले बताएका छन्।

उनले अहिलेको आवश्यकता प्रचारभन्दा पनि मानवीय सहयोग भएको उल्लेख गर्दै उद्धार, राहत, खाद्यान्न, स्वास्थ्य सेवा तथा आवश्यक सामग्री व्यवस्थापनमा सबै पक्ष सक्रिय हुनुपर्ने बताएका छन्। साथै, विपत्तिको समयमा सहयोग गर्ने सुरक्षाकर्मी, स्थानीयवासी, स्वयंसेवक, जनप्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।

‘सबैभन्दा पहिले मानवीयता र जीवन बचाउने कामलाई प्राथमिकता दिऔँ,’ न्यौपानेले अपिल गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T