काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नाइमाले ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बाढीपछि नाइमाका सदस्य कम्पनीहरूले पनि आर्थिक, यातायात तथा लजिस्टिक सहयोगसहित विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान दिँदै आएका छन्। नाइमाले सदस्य संस्थाहरूले विपद्को समयमा पुर्याएको सहयोगको प्रशंसा गरेको छ।
नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले स्थापनाकालदेखि नै विपद् तथा आपत्कालीन अवस्थामा सरकार र प्रभावित समुदायलाई सहयोग गर्दै आएको बताउनुभयो। उहाँले विपद्को समयमा सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सकिने बताए ।
खोज, उद्धार तथा राहत कार्यमा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा विभिन्न संघ–संस्थाप्रति सम्मान व्यक्त गर्दै नाइमाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार प्रभावित नागरिकको सहयोगमा जुट्न आग्रह गरेको छ।






प्रतिक्रिया दिनुहोस्